बालुवाटारमा अहिले निर्णायक बैठक,बानेश्वरमा अझै अलमल

बालुवाटारमा अहिले निर्णायक बैठक,बानेश्वरमा अझै अलमल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा सहमति जुटाउन सत्ता गठबन्धनको निर्णायक बैठक अहिले केहीबेर पछि बालुवाटारमा बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवासमा बिहान १० बजे बोलाइएको बैठकले दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीबारे टुंगो लगाउने छ ।

हिजो बस्ने भनिएको सत्ता गठबन्धनको निर्णायक बैठक नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकका कारण आजलाई सारिएको हो । आजको संसद बैठकअघि नै एमसीसीबारे गठबन्धन दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको बालुवाटार स्रोतले बताएको छ ।

एकीकृत समाजवादीको हिजोको बैठकले एमसीसी सम्झौता संसदमा टेबल भए पनि त्यसको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी अनुमोदन भए सरकारबाटै बाहिरिने निर्णय यसअघि नै गरिसकेको छ । आन्तरिक र वाह्य परिस्थितिलाई नियाल्दै आएको माओवादीले आफ्नो पछिल्लो निर्णयमा लचिलो हुने संकेत देखाएको छ ।

आज डाकिएको संसद बैठकको सम्भावित कार्यसूचीमा एमसीसी एजेण्डा छैन । तर संसद बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।

यता प्रमुख विपक्षी दल नेकपा एमालेले भने संसद बैठकमा गर्दै आएको अवरोधलाई आज पनि कायम राख्ने जनाएको छ ।

टिप्पणीहरू