एमसीसी टेबल गर्ने गठबन्धनको निर्णयमा प्रचण्डको फरक मत
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई प्रतिनिधिसभामा टेबल गर्ने सत्ता गठबन्धनको आजको निर्णयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले फरक धारणा राख्नुभएको छ ।
एमसीसी संसदमा टेबल गर्न गठबन्धनमा सहमति जुटेको समाचार सार्वजनिक भैरहेका बेला प्रचण्डले फरक मत राखेको उहाँको सचिवालयले प्रष्ट पारेको हो । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अध्यक्षले एमसीसीलाई व्यापक छलफलका लागि समितिमा पठाउन आग्रह गरेको तर प्रधानमन्त्रीले नमानेका कारण त्यसमा सहमति जुट्न नसकेको बताएकी छन् ।
‘आजको शीर्ष नेतृत्वको बालुवाटार छलफलका सम्बन्धमा : अध्यक्ष कमरेड प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैध्दान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अबरुध्द भएको र अरु कुनै पनि विधेयक टेबल नभएको अवस्थामा सभामुखलाई एमसीसीमात्र टेबल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट गर्नुभयो’, उनले भनेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा टेबल गर्नेपर्ने अडानमा रहेपछि प्रचण्डले छलफलको लागि समितिमा पठाउन आग्रह गरेको तर,त्यसमा देउवा सहमत नहुँदा आ-आफ्नो बिचारअनुसार नै सदनमा छलफल गर्ने समझदारी जुटेको दाहालले भनेकी छन् ।
टिप्पणीहरू