गर्भवतीलाई अण्डा बाँड्दै रिब्दीकोट

गर्भवतीलाई अण्डा बाँड्दै रिब्दीकोट

पाल्पाको रिब्दीकोट गाँउपालिकाले दीर्घरोगीलाई आर्थिक सहयोग गरेको छ । पालिकाले संघीय सरकारले छुट्याएको बजेटबाट पालिकाभित्रका जटिल प्रकारका रोगीलाई उपचारका निम्ति आर्थिक सहयोग गरेको हो ।

पालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र आर्थिक अभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको जिल्ला स्वास्थ्य संयोजक सुनिल अधिकारीले बताए ।

गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको गाँउपालिका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।

साथै, पालिकाले आठ वडाका पाँच बर्थिङ सेन्टरमा गएर सुत्केरी हुनेलाई पनि एक हजार पाँच सयका दरले नगद उपलब्ध गराउँदै आएको छ । सबै गर्भवती महिलाले सुरक्षित रुपमा शिशु जन्म दिनुपर्छ भन्ने उदेश्यका साथ पालिकाले यो अभियानको सुरुवात गरेको बताइएको छ ।

गर्भवती महिलाले प्रत्येक पटक आफ्नो स्वास्थ्यबारे जानकारी लिन जाँदा एक क्यारेटको दरले अण्डा पाउछन् । यसो गर्दा बर्थिङ सेन्टरमा आएर सुत्केरी हुनेको संख्यामा उल्लेखीय वृद्धि भएको स्वास्थ्य संयोजक अधिकारीको भनाइ छ । गाउँपालिकाले २०७५ सालदेखि यो अभियान सञ्चालन गर्दै आएको छ ।

टिप्पणीहरू