एमसीसीको व्याख्यात्मक टिप्पणीमा अमेरिका सहमत भएको दाबी
नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा रहेको बताउनुभएको छ ।
आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उहाँले एमसीसीबारे नियोजित रूपमा भ्रम फैलाइए पनि अब त्यो आशंका दूर भएको बताउनुभयो । डा. महतले एमसीसीबारे नेपाल र अमेरिकाको बुझाइ समान रहेको पनि उल्लेख गर्नुभयो ।
‘एमसीसीबारे नियोजित ढंगले भ्रम छरिएको छ । एमसीसी कुनै देशविरुद्ध प्रयोग हुँदैन,’ उहाँले भन्नुभयो, ‘केही नेताहरूले दोहोरो चरित्र देखाएका छन् । यो विशुद्ध आर्थिक सहायता हो । यति ठूलो आर्थिक सहायता अहिलेसम्म नेपालले पाएको थिएन । जुन भ्रम थियो त्यो अब दूर भएको छ । अब यसलाई नेपालको आर्थिक विकासमा लगाउनुपर्छ ।’
विदेशी सहयोगलाई लिएर नेपाली काँग्रेसको फरक धारणा नहुने भन्दै एउटै मापदण्ड र धारणा रहेको महतको भनाइ छ । उहाँले एमसीसी सैन्य परियोजना भएको भन्दै गरिएको भ्रम सरासर झुटो भएको पनि बताउनुभयो ।
लामो विवाद र बहसपछि हिजो प्रतिनिधिसभाबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन भएको थियो । संसदले पारित गरेको ११ बुँदे व्याख्यात्मक घोषणाको वैधानिकताबारे प्रश्न उठिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने डा. महतको यस्तो प्रतिक्रिया आएको हो ।
टिप्पणीहरू