प्रमुख विपक्षी दलका नेतालाई सभामुखको जवाफ
प्रमुख प्रतिपक्ष एमालेले लिखित दस्तावेजमै सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर प्रकारका आरोप लगाएपछि उहाँको सचिवालयले मुख खोलेको छ ।
सभामुख सापकोटाको राजीनामाको माग गर्दै महिनौंदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको एमालेले हिजो एमसीसीसम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा सभामुखको भूमिकालाई लिएर चर्को आलोचना गरिएको थियो ।
उक्त विज्ञप्तिमा सभामुख सापकोटा एमाले विभाजनको मतियार बनेको, संसदीय मर्यादा कायम गर्न नसकेको, पदीय दायित्व निर्वाह नगरेकोलगायतका आरोप लगाइएको थियो ।
त्यसको खण्डन गर्दै आज सभामुखको सचिवालयले एमालेको नाम नलिई राजनीतिक पूर्वाग्रह प्रेरित वक्तव्य जारी गरेर भ्रम छरिएको बताएको छ । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको बताएका छन् ।
सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै उनले यसप्रति सचिवालयको ध्यानाकर्षण भएको बताए । ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले प्रेस नोटमा उल्लेख गरेका छन् ।
आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले भ्रम सिर्जना गरिएको भन्दै न्यौपानेले भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन् ।
टिप्पणीहरू