रुस-युक्रेन लडाइँमा उत्तर कोरिया
उत्तर कोरियाले रुसविरुध्द अमेरिकाले लगाएको प्रतिबन्ध र युक्रेन समस्याबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले कोरियाली समाचार संस्था केसीएनएलाई दिएको जानकारीअनुसार युक्रेनको पछिल्लो अवस्थाबारे विश्व समुदाय चनाखो भएको छ ।
प्रवक्ताले युक्रेन समस्याको मुख्य दोष अमेरिका र पश्चिमा राष्ट्रहरुलाई लगाउँदै तिनका विस्तारवादी नीतिको कारण युक्रेनले पछिल्लो अवस्था भोग्नु परेको बताएका छन् । हेजेमोनिक नीतिले अरुमाथि दमन गर्ने र आफू ठालु पल्टिने बुझाउँछ ।
रुसले आफ्नो सम्प्रभूता सुरक्षा सुनिश्चितताको माग गरेको अवस्थामा पूर्वी युरोपमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नाटोको विस्तारले उक्त मागको अवमूल्यन गरिएको उत्तर कोरियाको ठहर छ ।
अमेरिका र पश्चिमा राष्ट्रहरुले विध्वंश मच्चाएको उदाहरण दिँदै प्रवक्ताले इराक,अफगानिस्तान र लिबियामा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको सम्मान नगरिएको उल्लेख गरेका छन् ।
अमेरिका र पश्चिमाको निम्ति राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता ओठे वचन मात्र भएको उत्तर कोरियाको आरोप छ । अहिले युक्रेन सम्बन्धमा त्यो कुरो उठाउँदा दोहोरो भूमिका खेलिएको उसको भनाइ छ ।
अमेरिका र उसका समर्थकहरुको गतिविधिले विश्व शान्ति र स्थीरतामा नै आँच पुगेको बताउँदै प्रवक्ताले राज्य नियन्त्रित समाचार संस्थालाई भनेका छन्,अमेरिकाको दोहोरो मापदण्ड र नीतिका कारण विश्व शान्ति र सुरक्षाको साथै स्वाधीन मुलुकको सुरक्षामा गम्भीर चुनौती देखा परेको छ ।
टिप्पणीहरू