एकल महिलालाई एउटा बाख्रा
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ का विपन्न एकल महिलालाई बाख्रा वितरण गरिएको छ । वडाभित्रका १७ जना महिला प्रत्येकलाई एउटा बाख्रा वितरण गरिएको हो । विपन्न, दलित, एकल महिला छनोट गरी बाख्रा वितरण गरिएको वडाध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो ।
उक्त कार्यक्रमबाट थोरै जग्गा भएका, कमाउने साधन नभएका एकल महिलालाई निकै सहयोग पुग्ने वडाध्यक्ष बुढाको भनाइ छ । प्रारम्भिक चरणमा बाख्रा वितरणका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडाभित्रका एकल, विपन्न, आयस्रोत नभएका महिलाहरुको जीवनस्तर उकास्न थप कार्यक्रम ल्याइने जनाइएको छ ।
वडामा झण्डै दुई सय एकल महिला छन् । उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ वडा कार्यालय लागिपरेको हो । वितरण गरिएका बाख्रा ब्याउँदा पाठो भए सम्बन्धित एकल महिलाले राख्ने र पाठी भए अर्को एकल महिलालाई निःशुल्क रुपमा दिनुपर्ने शर्त राखिएको छ ।
टिप्पणीहरू