जति चिच्यायो उति फाइदा

आफ्नाले गरे चूपचाप, अर्काले गरे हाइँ–हुँइँ । देशकै सत्तासिनले यस्तो गरेपछि राजनीतिक संस्कार सुध्रियोस् कसरी ? ०७२ को संविधान जारीलगत्तै गठित एमाले–माओवादी गठबन्धन सरकार ढालेर हाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेससँगको सहकार्यमा प्रधानमन्त्री हुनुहुँदा उहाँको सचिवालय समूहबाट विज्ञप्ति जारी गर्ने र कार्यक्रम तालिका बनाउने व्यक्ति थिए, सूर्यकरण शर्मा ।

उनैको मातहतका हुन् पर्वते मनोहरि तिमल्सिना । उनले फेसबुकमा तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीबारे केही अमिला टिप्पणी गरे । त्यसपछि ओलीले प्रचण्डसँग तीव्र असहमति जनाउँदै भन्नुभयो, ‘यस्तो मान्छेलाई निकाल्नुहुन्छ कि के गर्नुहुन्छ ? यस्तो मान्छे राखेर कसरी हाम्रो सम्बन्ध सुध्रिन्छ ?’ त्यसपछि मनोहरि पेरिसडाँडामा बसेर ‘लोकपाटी डटकम’ चलाउने गरी बालुवाटारबाट बिदा गरिए । अर्थात् दल फरक भए पनि एउटा नेताको सचिवालयबाट अर्को नेताविरुद्ध कुनै पनि टिप्पणी सह्य हुनु हुँदैन भन्ने केपीको आग्रहबमोजिम नै मनोहरि यसरी प्रम सचिवालयबाट ‘सहिद’ बनाइएका हुन् ।

तर, अहिले स्थिति त्यस्तो रहेन । प्रधानमन्त्री केपी ओलीको सचिवालयमा रहेर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि अशिष्ट टिप्पणी गर्ने क्रम खुलेआम छ । हप्कीदप्कीको शैलीमा भाषण गर्दै, लेख्दै हिँड्दा पनि त्यस्ता प्रवृत्तिउपर कुनै सोधखोज छैन ।

यसबारे पूर्वमाओवादीसम्बद्ध नेताहरूले प्रचण्डसामु गुनासो राख्दा प्राप्त जवाफ भने अचम्मलाग्दो छ, हालै खुमलटारमा प्रचण्डले भन्नुभयो, ‘आऽऽ, हुन दिनुस्, कति कराउँछन्, कराइरहुन् केही बित्या छैन !’ अध्यक्षको कुरा सुनेर ट्वाल्ल परेका नेताहरूलाई उहाँले अगाडि भन्दै जानुभयो, ‘ती मान्छेमार्फत प्रधानमन्त्रीले के भन्न खोजिरहनुभएको छ ? उहाँको दिमागमा के खेलिरहेको छ भन्ने कुराको त जानकारी पाइन्छ नि ! त्यसो भनेर मनको भँडास निकाल्दा तत्काललाई कोही–कोही खुशी होलान् । तर, त्यसबाट अल्टिमेट्ली फाइदा हामीलाई नै छ । तिनीहरू जति कराए, जति छताछुल्ल भए, त्यसबाट फाइदा उनीहरूको मनस्थिति थाहा पाइन्छ । तपाईंहरू हेर्दै जानुहोला, फाइदा हामीलाई नै हुन्छ’

गुनासो गर्न पुगेका नेताबीच चर्चा छ, प्रचण्डको यो अभिव्यक्तिले के अर्थ राख्छ ? आगामी दिनमा कुन रूपमा यो विषय विस्फोट वा प्रकट हुनेछ ?

टिप्पणीहरू