शरणार्थी क्याम्पमा राजदूतदेखि दूतसम्मको दौडधुप

शरणार्थी क्याम्पमा राजदूतदेखि दूतसम्मको दौडधुप

नेपालमा शरण लिएर बसेका तिब्बतीहरुले विभिन्न कार्यक्रमको बहानामा विदेशी राजदूतहरुलाई बोलाएर कार्यक्रम गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । सोही क्रममा आज ललितपुरको एकान्तकुनामा अमेरिकी र अधिकांश पश्चिमा देशका राजदूत र केही कर्मचारीको उपस्थितिमा कार्यक्रम गरिएको छ ।

आजको कार्यक्रममा तिब्बती शरणार्थीहरुले भन्ने गरेका तिब्बती दूत छुल्तिम ग्याल्छोको पनि उपस्थिति देखिन्थ्यो । तिब्बती परम्परागत नयाँ वर्ष २१४९ औं मनाउने क्रममा उनीहरुले विदेशीलाई बोलाएका हुन् ।

एकान्तकुनास्थित जावलाखेल ह्याण्डिक्राफ्ट सेन्टरको परिसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको संयोजन शरणार्थी क्याम्पका प्रमुख टासि छेतेनले गरेका थिए । आज बिहान ८ बजेदेखि साढे ११ बजेसम्म भएको कार्यक्रममा ६१ सि.डि १ नम्बर प्लेटको गाडी चढेर अमेरिकी राजदूत रेण्डी बेरी पुगेका हुन् ।

त्यसैगरी ५३ सि.डि. १ लेखिएको नम्बर प्लेटको सवारी साधन प्रयोग गरेर नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत सहभागी भइन् । अष्ट्रेलियाका राजदूत पिटर बड १ सि.डि.१ नम्बर प्लेटको सवारी साधन र फ्रान्सका राजदूत १७ सि.डि ८ लेखिएको गाडी प्रयोग गरेर तिब्बतीहरुको कार्यक्रममा गएका हुन् ।

कार्यक्रमस्थलमा अमेरिकी दूतावासका ६१ सि.डि ४,६१ सि.डि २५०,६१ सि.डि १४७, ६१ सि.डि १२५, ६१ सि.डि १५१ र ६१ सि.डि ३ नम्बरका सवारी साधन प्रयोग गरेर अन्य कर्मचारीसमेत सहभागी भएका थिए ।

उपत्यका ट्राफिक प्रहरी महाशाखा बग्गीखानाका अनुसार,नेपालका कुनै पनि सरकारी अधिकारीहरु सहभागी नभएको उक्त कार्यक्रममा ६६ सि.डि ००१७ र ७२ सि.डि ३९ नम्बर प्लेटका सवारी साधनको समेत प्रयोग भएको पाइएको छ ।

यसअघि अस्ति बिहीबार साँझ अमेरिकालगायत पश्चिमा मुलुक र तिनका समर्थक राष्ट्रका राजदूत एवम् अन्तर्राष्ट्रिय संघ संगठनका प्रतिनिधिहरुले युक्रेनको समर्थन र रुसको विरोधमा बौध्दमा दीप प्रज्वलन गरेका थिए । साथै, कार्यक्रममा युक्रेनको राष्ट्रिय गान बजाइएको थियो भने त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका पछिल्ला विद्रोही भाषणको अंश पढेर सुनाइएको थियो ।

टिप्पणीहरू