तीन पुस्ताको इज्जत धानेको तनहुँ

तीन पुस्ताको इज्जत धानेको तनहुँ

तनहुँको भ्युटावरझैं मानौंकोट पहाड टेक्दै थिएँ । इतिहासको गर्भमा के थियो थाहा भएन तर आज अल्लारे प्रेमको डेटिङ स्पटजस्तो छ मानौंकोट । आधुनिक नगर सभ्यताले मादीको किनारमा फोहोर गाडेर डम्पिङ साइट बनाएको छ । परासर ऋषिले नाविक कन्यामाथि हस्तक्षेप गरेर ब्यास जन्मेका थिए, पौराणिक ग्रन्थअनुसार तर, आजभोलि अनेकौं प्रविधिको विकासले ब्यासहरू जन्मनै पाउँँदैनन् । कन्यामा अनेकौं रूपको हस्तक्षेप भइरहेका समाचार भने आइरहेका छन् । बन्दीपुरको चर्चा पर्यटनको बजारले पाएकै छ । तर, मलार्ई भने यात्रामा भेटिएका सुरेशचन्द्रसर र टिकाजंग ठकुरी नै तनहुँ नियाल्ने आँखीझ्याल भए । सुरेशचन्द्र तिमल्सिना र जीवन संगिनीको दुःख–सुखका उकाली–ओराली लामो थियो तर केही किस्सा गफगाफमा चुहिएपछि जिज्ञाशा कोट्याउन थालेँ । गाउँका कांग्रेसले गीत गाउँदै होच्याउने र खिस्याउने गर्थे उनलाई । ऊ बेलाका कति कुरा बिर्से पनि केही सम्झना ताजा छ :

भागेका थिए टोड्केको वनवनै
बल्ल त बाँचेँ आमा भनेँ मनमनै

सुरेश सर गाउँबाट भूमिगत भएर हिँडेका थिए । घर फर्कंदा खेतीबाली सप्रेको देखेर उनले भने, ‘कांग्रेसले खेदेर कम्युनिष्टले साथ दिँदा मेरो त खेती नै सप्रियो ।’

आमालाई अटेरी र जिद्दी बानी अझै उस्तै लाग्छ सुरेश सरको । उसबेला परालको दाइँ हाल्दाहाल्दै पक्राउ परेका थिए । भाग्न भ्याउने थिए तर अटेरी गर्दागर्दै परेका रहेछन् । मालेको जनपक्षीय उम्मेदवारी र मशालको बहिष्कारवादी राजनीति पनि गज्जब थियो । राजनीति तातेको पञ्चायती बेला उत्साहित कांग्रेसीजनले मेलापात र चौतारीमा गाउने गीतको आमालाई ताजै सम्झना छ

हाम्रो गाउँका दाजु भाइ माले र मशाले
अबदेखि कांग्रेसमा भोट खसाले ।

एकताका कम्युनिष्ट र कांग्रेसको पानी बाराबार थियो । आमाको मनमा ताजै छ, कम्युनिष्ट मास्टरकी स्वास्नी भएकाले मेला बोलाएर अपमान गरेको त्यो क्षण । तनहुँको नाब्रङ गाउँदेखि आएर बसेका थिए, उनीहरू यहाँ । कांग्रेसको हैरानीले झोंक चलेपछि आमा पनि के कम हिलोले रूख चिह्नसमेत मेटेर रिस फेरिन् । ऊबेला गाउँँमा नाटक देखाएर जनचेतनाको बिगुल फुके, राजारानीको तस्बिर च्याते । तर, राति घरमा आउने ठकुरी दाजैले चाहिँ सुरेश सरलाई हामीले दूध र भात खुवाएर राखेका छौँ । चिन्ता नलिनू भन्थे । हौसला दिन्थे । साथसहयोग गरेका थिए । त्यस्तै भरोसामा सन्तान हुर्काइन् उनले । दाजुभाइले राजनीतिक बहिष्कार गरे पनि ठकुरी दाजैको आत्मीयता र प्रेम औधी थियो यो परिवारमा । कांग्रेसीलाई समाजमा राखेर ०४९ मा बाहुन पोखरा झरे । उनीहरूको परिवार बरभञ्ज्याङ ओक्लाङ गाउँमा थियो पहिला । रामचन्द्र पौडेलहरू थिए मावली खलक । तैपनि, सुरेश सर कम्युनिष्ट ! तनहुँ कांग्रेसका राष्ट्रिय हस्ती भएको जिल्ला, शंकर भण्डारी, गोविन्दराज जोशी यहीँकै ।

सुरेश सरलाई पञ्चायतकालमा राजकाज मुद्दा लगाएर जेल हालियो । सधैँ हैरानी भोगेका थिए उनीहरूले तर एकपटक गाउँका ठालुहरूलाई समेत जरिवाना गर्न सफल भए कांग्रेसलाई खिसिट्युरी गरेर

विकासको मलले धानको बाला लरिलै
बुढेसकालमा डण्डा तिर्न पर्‍यो बरिलै ।

देश जनयुद्धको बाटोमा जाँदा सुरेश सरको परिवार विद्रोही माओवादीलाई भरपुर मलजल गर्न थाल्यो । दुश्मनको घुसपैठबाट हैरान भएकाले एक जना चिनेको कमरेड नआए ढोका नखोल्न कमरेडहरूले नै सिकाएका थिए । त्यो बेला भेटेका असल लाग्नेहरू सबै शहीद भए । टीकाजंग ठकुरी बा भन्दै थिए २०३६ सालमा हामीले बालेका हौँ मशाल । अब मर्दा झण्डा ओढाए ओढाऊ नओढाए पनि के मतलव ! हरि चुमाङ र आशा खनालहरूले के पूरा गर्लान् यिनका आशा र समरका सपना ? एकताकेन्द्र बन्यो । सबै आ–आफ्नो बाटो लागे । कहाँँ पुगे मोहनविक्रम ? यो विज्ञानको जमाना हो । अर्को कुनामा एकासी जना मरेका छन् मेरा छोराजस्ता तर तिनलाई शहीद घोषणा किन गरेनन् त अवसर पाउँदा प्रचण्डले प्रधानमन्त्री भएर पनि !

कमाण्डरले अघिपछि देख्नुपर्छ, नेताहरू दूरदर्शी हुनुपर्छ भन्दै थिए उनी । भर्खरैका पढेलेखेका तिमीजस्ता केटाकेटी खरानी भएर ल्याएको यो गणतन्त्र हो बाबु, बोल्न पाएका छौ । बाको आँखाबाट आँसुको समुद्र छचल्कियो र गला अवरुद्ध भयो । केही बेर रोकिएर उनले भने– हिँड भन्दिनँ, नहिँड पनि भन्दिनँ म अब कसैलाई । दमौली बजारमा पम्फा रानीले यति पैसा स्विजरल्याण्ड लगिन् भन्दै जुलुसमा नारा लगाएर उफ्रियौँ तर अहिले सम्झँदा हाँसो लाग्छ, उनले भने, आखिर एक रातमै खरानी भयो त दरबार, किन होला ? जनयुद्धमा सबै आउँथे, बस्थे, खान्थे, बुबा भन्थे हामी पनि कुदियो मज्जैले, ‘ती केटाकेटीहरू मरेर गए’ तिनको अनुहार झलझली आउँछ, केही मरे केही मारेको हो । गाडीमा उल्टो पारेर मार्नेलाई मार्न हुन्छ मैले फौजमा सिकेको थिएँ, राजनीति त्यही हो । दुश्मनलाई पहिला खत्तम गर्ने, जसले हान्यो उसले जान्यो । ठकुरीबाको यो अनुभवसिद्ध ज्ञान कुनै शास्त्रबाट लिएको सापटी थिएन । हिजो र आज लुट जारी छ तर तरिका बदलेका छन् लुटेराले अब विद्रोहले तरिका बदल्ने कि नाइँ ? दमौली बजारमा भेटिएका सर भन्दै थिए लामखुट्टेले त प्रतिरोधी क्षमता विकास गरेछ भने हाम्रो किन हुन्न ?

तनहुँ किसान योद्धा एकदेव आलेको गाउँ हो । गण्डकी अञ्चलमा किसान आन्दोलनको बलले कम्युनिष्ट पार्टीको जग हालेका थिए । २००९ सालमा मानौं फाटको जग्गा कब्जा गरेका सामन्तविरुद्ध हलगोरु नारे । जिल्लाका बडा हाकिमहरूले सशस्त्र फौज पठाएपछि जस्तालाई त्यस्तैको नीति लिएर भूपू सैनिक संगठित गरी मानौंकोटमा मोर्चा कसे । सामन्त र पुलिस प्रशासनलाई पछारे । के आइसिंहको सिंहदरबार विद्रोहको बहानामा प्रतिबन्धित कम्युनिष्ट पार्टीलाई जनताबीच लाने र सामन्तविरोधी किसान आन्दोलन थाल्ने काम गरे । आजका प्रतिबन्धित कम्युनिष्टले सिक्न जरुरी छ आलेको पाठ । आलेको सम्झनामा नेकपाका संस्थापक महासचिव पुष्पलालले आले स्मृति ग्रन्थ पेज ३ मा उल्लेख गरेका छन्, अस्पतालको शøयामा आलेको अन्तिम बोली यस्तो थियो, डाक्टर साहेब, मलाई अस्पतालमा मर्नु नपरोस्, म आफ्नै देशको माटोमा लड्दै मर्न चाहन्छु । उनको देशभक्तिपूर्ण भावना आफैंमा ओजिलो थियो । ००७ सालको क्रान्तिमा बन्दीपुर ब्यारेक कब्जा गरेर क्रान्तिकारी सरकार गठन गरेका थिए आलेले । यता, रक्षा दलका जवान गरेको सिंहदरबार विद्रोहको संगठनकर्ता थिए । उनले केआइसिंह र रामप्रसाद राईलाई मुक्त गरेका थिए । केआइसिंह भागेर चीनतिर लागेपछि आलेले अवसरवादी र भगुवा नीतिको विरोध गरे । रामप्रसाद राईको आश्चर्यजनक मृत्यु भयो । दिवंगत वामपन्थी नेता गणेश पण्डितले आलेको सम्झनामा कोरेका थिए कविता हेरौं एक अंश:

आफ्नो स्वार्थ थिएन देश जनता निम्ति लडेका थियौ
निष्ठा, त्याग इमानका अनि ठूला एक राजनेता थियौ
पर्दाफास, उधार आज भ्रमको क्रान्ति फस्यो धापमा
आले आऊ न, ब्यूँत हामी सब छौँ तिम्रा सधैँ साथमा ।

साँच्चै आज समयले धेरैको भ्रमको पर्दा च्यातिदिएको छ । क्रान्तिका सपना अधुुरा छन् । पञ्चायतकालका सुरेश सरको बिंडो लोकतन्त्रकालमा छोराले बिंडो थाम्दै थिए लुकामारी घामछायाजस्तै । सुरेश सरको परिवारमा उस्तै कथा–व्यथा दोहोरिँदै थियो । मचाहिँ नाति पुस्ताले फेरि बाजेको जस्तो लडाइँ गर्नुपर्ला कि नपर्ला भन्ने सोचमा मग्न थिएँ । नेपालको पुलिसले गर्ने राजनीति र राजनीतिले चलाएको पुलिसको चर्तिकलामा को किन बोल्लान् ? सत्य–तथ्य नियाल्न जरुरी छ । प्रहरी सुमनको खोजीमा छ । विद्यार्थी राजनीतिमा स्थापित नाम हो सुमन । सुमनले बाउको बिरासत धान्दै छन् ।

टिप्पणीहरू