प्रहरी मुख्यालयमा बाजा बजेपछि सबै फुरुङ्ग
नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयमा धुमधामका साथ सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसमेतको उपस्थितिमा आज सांगीतिक कन्सर्ट गरिएको हो ।
नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का म्युजिसियनहरुले सामूहिक रुपमा उक्त कन्सर्टको आयोजना गरेका हुन् ।
सो अवसरमा प्रहरी संगीत विद्यालयका प्रहरी नायव उपरीक्षक भोलाराज खनालको टोली र गोर्खाज्का तर्फबाट डाइरेक्टर अफ म्युजिक क्याप्टेन शेन ओउनिल, एसिस्टेन्ट डाइरेक्टर अफ म्युजिक डेजीनेट वो २, सुनिल गुरुङसहितको टोलीले विभिन्न खालका सुमुधर धुन प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले डिफेन्स एट्याज, कन्शोल पल स्मिथ र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्को तर्फबाट डाइरेक्टर अफ म्युजिक क्याप्टेन शेन ओउनिललाई कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । सोही अवसरमा डिफेन्स एट्याची, कन्शोल पल स्मिथले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाईसमेत कृतज्ञताको चिनो प्रदान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलमा समय समयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज् र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्का प्रतिनिधिलगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।
टिप्पणीहरू