बारको चुनाव,वामपन्थीलाई तनाव

बारको चुनाव,वामपन्थीलाई तनाव

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वको निम्ति आगामी चैत तेश्रो साता मतदान हुँदैछ । मतदाताको संख्या हेर्दा मोटामोटी आधा नेपाली काँग्रेस निकट वकिलहरु देखिन्छन् भने बाँकी आधा अन्य वामपन्थी दलहरु निकट । एमाले,एकीकृत समाजवादी र माओवादी निकट मात्रैको छुट्टै संख्याले कुनै पनि उम्मेदवार जित्न सक्ने हैसियतमा हुँदैनन् ।

प्रजातान्त्रिक लयर्स एसोसिएसन (डिएलए) ले आधा मत लैजाने भएकाले अरुको भोट एकै ठाउँमा खसेपनि जित्न हम्मे हम्मे पर्ने अवस्था विगतदेखि नै हुँदै आएको छ । तर उनीहरुबीच केही अन्तर्घात हुने भएकाले प्राप्त हुने मत उम्मेदवारमा भर पर्ने गरेको पाइन्छ । यस्तो अवस्थामा यसपटक पनि गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना बलियो भएको हो ।

पछिल्लो सहमतिअनुसार बारको २५ सदस्यीय कार्यसमितिमा काँग्रेसलाई अध्यक्षलगायत १५ पद छुट्टाइएको छ । बाँकी १० सिट वामपन्थीलाई तोकिएको हो । तीमध्ये छ माओवादी र चार सीटमा नेकपा एकीकृत समाजवादीको भाग परेको छ ।

“काँग्रेसनिकट प्रेमबहादुर खड्काले बारको चुनाव जित्दा सलहले जस्तै लगेका थिए । त्यसपछि अहिले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पनि वामपन्थी प्यानलबाट अध्यक्ष जितेकै हुन् ।’

तर अहिले गठबन्धन दल जसपालेसमेत भाग खोजेपछि यसअघिको सहमतिमा केही सिट तलमाथि पर्ने भएको हो । अर्कोतर्फ एमाले एक्लै उठेको छ । उसको मात्रै संख्याले जीत हात पार्न असम्भव देखिएको बार स्रोतको दाबी छ ।

यसअघिको चुनावी प्रसंग कोट्याउँदै स्रोतले भन्यो,‘काँग्रेसनिकट प्रेमबहादुर खड्काले बारको चुनाव जित्दा सलहले जस्तै लगेका थिए । त्यसपछि अहिले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पनि वामपन्थी प्यानलबाट अध्यक्ष जितेकै हुन् ।’

खड्का र शेरबहादुर केसीको पालामा काङ्ग्रेसलाई झण्डै दुई तिहाई भोट प्राप्त भएको थियो । त्यतिबेला उहाँहरुलाई मतदान गर्नेले लगत्तै भनेका थिए, ‘तपाईंले जित्न त जित्नुभयो तर चलाउन गाह्रो हुन्छ है ! ’ अहिलेका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा चुनाव लड्दा वामपन्थीलाई २५ मा २३ सिट हा लागेको थियो ।

‘विगतका चुनावलाई हेर्दा अब उनीहरुको (काँग्रेसको) पालो आएको हो कि ! ,’ बारका एक जना सदस्यले भने । यदि राजनीतिक नेतृत्वमा झैँ वामपन्थी वकिलहरुले गठबन्धन नगरे काँग्रेसीहरुको एकपक्षीय रुपमा धेरै जना आउने डर हुन्थ्यो । तर अहिले काँग्रेसभित्रै २५ सिटमा मारामार देखिन्छ । उनीहरुमध्ये केहीले बारको चुनावमा किन एकता गरियो भनेरसमेत आपत्ति जनाएको बताइन्छ ।

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रनिकट वामपन्थी वकिलहरुको बाध्यता पनि आफ्नै छ । पहिले काँग्रेसतिरभन्दा उनीहरुले प्रगतिशील समूहसँगै गठबन्धनको कोशिस गरेका थिए । ‘एमाले निकट वकिलहरुलाई मिलेर जाऔं भन्यौं तर उनीहरुले हामी एक्लै लड्ने हो, गठबन्धनका साथीहरु गठबन्धनतिरै लागे हुन्छ भनेपछि त्यताको सम्भावना टुटेको हो,’ माओवादी निकट एक जना कानुन व्यवसायीले भने ।

यसअघि वाम पृष्ठभूमिका शम्भु थापाले पनि बारको अध्यक्ष जितेका हुन् । थापाको पालासम्म त्यति धेरै राजनीतिक ध्रुवीकरण नभएको कानुन व्यवसायीहरुको बुझाइ छ । २०४७ सालमा बहुदल आएपछि बारमा राजनीतिक ध्रुवीकरणको सुरुवात भएको हो ।

ध्रुवीकरणको सुरुवात गर्दै पहिले काँग्रेसले डिएलए (डेमोक्रेटिक लयर्स एसोसिएसन) बनायो । त्यसपछि एमाले निकट वकिलहरुले पीएलए बनाए । तर अहिले नेकपा र एमाले विभाजनपछि दुई प्रमुख पार्टी निकट कानुन व्यवसायीहरुले प्रमुख अन्तर्विरोधीको कित्ता प्रष्ट पारेका हुन् ।

टिप्पणीहरू