कमिशनकै लोभ सफाइ पाउन व्यापारीलाई रोक ?
राजश्व अनुसन्धान विभागका कर्मचारीले कमिशनको लोभमा व्यापारीविरुद्ध छापा मार्न थालेको गुनासो छ । कमिशन आउने भएपछि व्यापारीलाई सफाइको मौका नदिई एक्कासि छापा मार्ने र मुद्दा चलाइ हाल्ने काममा राजश्व विभागका कर्मचारी सक्रिय रहँदै आएका छन् ।
कानुनतः व्यापारी वा कम्पनीले राजश्व छलेको वा नतिरको शंका लागेमा पूर्व सूचना दिनुपर्ने प्रावधान छ । छलेको वा नतिरेको रकम तिर्न पत्र काट्नुपर्ने प्रावधान छ । र, उनीहरूलाई तिर्न मौका दिनुपर्छ । तर, राजश्व विभागका कर्मचारीले कमिशनको लोभमा सोझै छापा मार्ने र अभियोग पत्र बनाएर मुद्दा दायर गर्ने प्रचलन बढेको छ ।
कर्मचारीले छापामारेबापत २० प्रतिशत रकम कमिशन पाउने गरेका छन् । यसै कारणले गर्दा उनीहरू व्यापारीलाई सफाइको मौका नदिई छापा मार्दै मुद्दा दायर गर्न उत्साहित बनेका हुन् । राजश्वको मुद्दामा राजश्व बराबर बिगो र १३ प्रतिशत जरिवान जोडेर बिगो कायम गर्दै मुद्दा दायर गर्ने चलन छ । जस्तैः कसैले एक लाख रुपैया राजश्व छली गरेको देखियो भने त्यसमा एक लाख रुपैयाँ बिगो थप गर्दा दुई लाख रुपैयाँ हुन्छ ।
यो दुई लाख रुपैयाँको १३ प्रतिशत जरिवानासहित दुई लाख २६ हजार हुन्छ । र, राजश्व छलेको ठहरिए कर्मचारीले ४५ हजार २ सय रुपैयाँ कमिशन पाउने भएका छन् । एक लाखको राजश्व छलीमा ४५ हजार रुपैयाँ पाउने भएपछि कर्मचारीको ‘तेस्रो नेत्र’ चम्किएको दाबी कर्मचारी वृतमा छ ।
टिप्पणीहरू