सेनाभित्रको खेला, एकतारे, दुईतारे पनि परेछन् फेला
प्रधानसेनापति प्रभुराम शर्माले अघिल्लो चिफ पूर्णचन्द्र थापाको पालोमा हालीमुहाली गर्ने तीन जना सेनाका अधिकृतलाई ‘वाच’ मा राखेका छन् । स्रोतका अनुसार तीमध्ये एक विनयविक्रम राणालाई पोखराबाट ल्याएर राष्ट्रिय सुरक्षा परिषद्मा थन्क्याइएको छ । उनी करिब दुई महिनापछि रिटायर हुँदैछन् । त्यसैगरी, पूर्णचन्द्र थापाको पालामा तीन वर्ष सिपाहीको सरुवा गर्ने ठाउँमा बसेर हालीमुहाली गरेका महासेनानी लक्ष्मणचन्द्र थापालाई भकुन्डेबेंसीको सहायक बाहिनीपतिमा थन्क्याइएको बताइन्छ । र, तेस्रो ‘वाच’ गरिएका महासेनानी (फुल कर्णेल) माधव थापा विदेशमा छन् । उनको गतिविधि पनि चिफ शर्माको निगरानीमा रहेको बताइन्छ ।
अहिलेका प्रधानसेनापति शर्माले पूर्व चिफ थापाको जस्तो कडिकडाउ गरेका छैनन्, सेनाले सामान्य स्थिति र कम्फोर्टेवल महसुस गरेको दाबी स्रोतको छ । स्रोतका अनुसार पूर्णचन्द्र थापाले सेनाको प्रमुख भएपछि पहिलो दुई वर्ष राम्रै सुधारको काम गरेको भनेर प्रशंसित भए पनि पछिल्लो चरणमा सुधारको नाममा ‘आफू हिरो सेनाको छवि जिरो’मा पुर्याउन खोजेको आरोप पनि छ । थापाले आफ्नै साथीहरूलाई भ्रष्टाचारीको आरोपमा डामेर कारबाही गर्नुका साथै एकतारे जर्नेल पंकज कार्कीको जागिर खाएर सेनाभित्र भ्रष्टाचारी र चरित्रहीन छन् भन्ने सार्वजनिक गर्दा सेनाको छवि धुमिल भएको तर्क उनीहरूको छ । उनले संस्थागत रुपमै सेनाको बदनाम गरेको बताइन्छ र आफू हिरो हुन अरुलाई र, सेनाको ठेक्का पोलिछान्दा इन्जिनियरिङले पूर्व चिफ थापाले फास्ट ट्रयाक निर्माणको निम्ति खोलिएको दुईटा सुरुङ निर्माणको ठेक्कामा चाइनिज कम्पनी पोलिछान्दा इन्जिनियरिङसँग सेटिङमा मिलेर सम्पत्ति कमाएको आरोप पनि लाग्न थालेको छ ।
सो टेण्डरमा भाग लिएका २२ कम्पनीलाई पिक्युमा फालेर पोलिछान्दा इञ्जिनियरिङलाई एकलौटी रुपमा २८ अर्बको ठेक्का दिएको आरोप छ । सो कम्पनीले कबोल अंकको २ दशमलव ७ प्रतिशत रकम मात्रै कम दरमा ठेक्का पार्नु शंकास्पद रहेको दाबी स्रोतको छ । जबकि सोही कम्पनीले कबोल अंकभन्दा १५ प्रतिशत कम दरमा अन्य ठेक्का सकारेको छ । सो कम्पनीसँग थापाका सालो राजन रायमाझी र वर्तमान गृहमन्त्री ज्ञानेन्द्र कार्कीका भाइ लोकन्द्र कार्कीले सेटिङ मिलाएका थिए भनिन्छ ।
यी दुवै जना पोलिछान्दाका स्थानीय एजेन्टका रुपमा पनि चिनिन्छन् भने एजेन्टको काम गरेबापत दुवैले कबोल अंकको ३ प्रतिशत रकम कमिशनबापत कानुनी रुपमा पाएको दाबी स्रोतको छ । यसमा संसदीय समितिले पनि सेनालाई सोधपुछसमेत गरेको थियो । न्युरोडमा सानो कम्प्युटर पसल खोलेर बसेका सालो राजन बूढानीलकण्ठको घर बेचेर अहिले जावलाखेलमा सरेका छन् । थापा चिफ हुँदा उनले भुइँमा खुट्टा नटेकेको दाबी गर्नेहरू पनि छन् । पछिल्लो समय पनि कोरियन हतियार (केटु) को खरिद प्रक्रियामा संलग्न रहेका कार्कीले रायमाझीलाई आएको कमिशनले दुहबीमा आइल्याण्ड किनिदिएको गाईंगुईं पनि चल्न थालेको छ ।
पूर्वचिफ थापामाथि पोलिछान्दा, कोरियन हतियार र लमजुङ तनहुँतिर जग्गाजमिन खरिद गर्दा बढी मूल्याङ्कन गरी अर्बाैं कमाइ गरेको आरोप लाग्न शुरु भएको छ । अन्य कुनै आर्थिक काममा उनी मिसिएका देखिएका थिएनन् । शुरुका तीन वर्ष उनले भ्रष्टाचार कम गर्न अपत्यारो पाराले उनले सानोतिनो कुरामा ध्यान दिनै नपरेको बताउने गरेका हुन् । एक र दुई तारे जर्नेलको बढुवाका लागि एकै पटक सिफारिस गर्ने प्रचलन भए पनि चिफ शर्माले दुईतारे जर्नेलको मात्रै बढुवाको सिफारिस गरेका छन् । ती भाग्यमानी जर्नेल प्रेमध्वज अधिकारी हुन् । एक तारे जर्नेलको सात पद खाली रहे पनि अहिलेसम्म बढुवाको सिफारिस गरिएको छैन ।
टिप्पणीहरू