श्रीमान्–श्रीमती हुनु त यस्तो पो !

श्रीमान्–श्रीमती हुनु त यस्तो पो !

भरतपुर–१७,भुवनवस्तीका दलबहादुर थापा मगर हिजो मंगलबार धर्मपत्नी श्रीमाया राना थापासँगै भरतपुर गार्डेन रिसोर्टमा आएका थिए । दलबहादुरले नीलो सर्टमा रातो टाइ,कालो कोट–प्यान्ट र कालै जुत्ता लगाएका थिए । श्रीमती श्रीमाया नीलो साडी र कालो ब्लाउजमा सजिएकी थिइन् । उमेरले दुवै ४० वर्षका । उनीहरुको त्यहाँ सम्मान भइरहेको थियो । रुप र ड्रेसअप राम्रो भएकाले होइन, असल र उदाहरणीय दम्पत्ति भएकै कारण भरतपुर महानगरपालिकाबाट उनीहरु सम्मानित भएका हुन् ।

गोरखाबाट चितवन आएर शून्यबाट व्यवसाय शुरु गरेका उनीहरु पहिले भाडाको कोठामा बस्थे । अहिले भरतपुर–१७ मा मात्र होइन चितवनकै भरतपुर–११ मा पनि घर–घडेरी जोड्न सफल भएका छन् । भुवनवस्तीमा रोशनी हार्डवेयर र रोजिन मनिट्रान्सफर सञ्चालन गरेका छन् छोराछोरीको नाममा । ‘शुरु–शुरुमा आर्थिक समस्याले निकै पिरोलेको थियो,नयाँ ठाउँमा मान्छे नचिनेको,सरसापट नपाइने । तैपनि नआत्तिकन अगाडि बढें’, श्रीमतीलाई देखाउँदै दलबहादुरले भने, ‘उनको साथ,हौसला र मायाले संघर्षमा ऊर्जाको काम गर्यो र आज यहाँसम्म आइपुगेको छु ।’

“समाजमा राम्रो चालचलन,असल व्यवहार गरेका जोडीलाई सम्मान गरियो भने त्यसको प्रभाव पर–परसम्म पुग्छ,अरुलाई पनि आदर्शवान बन्न प्रेरित गर्छ”

बिहे गरेको यत्तिका वर्षसम्म आफूहरुबीच कहिल्यै झगडा नभएको उनले बताए । ‘जानीनजानी एउटाबाट भूल हुन गयो भने अर्काेले सम्झाउँछौं,रिस नै उठ्यो भने पनि बरु केही समय नबोली चुप लागेर बस्छौं । पछि आफैं रिस शान्त हुन्छ,झगडा हुँदैन’, उनले भने । श्रीमतीको मन पर्ने कुराभन्दा उनी खासै नरिसाउने दलबहादुरले बताए ।

श्रीमानको मनपर्ने कुरा भन्दै श्रीमायाले थपिन्, ‘अरुसँग बोल्दा पनि सम्मानपूर्वक तरिकाले बोल्नुहुन्छ,हाँसेरै बोल्ने बानी छ,कहिल्यै रिसाउनु हुन्न । कुनै पनि काम गर्नुपर्दा मसँग सरसल्लाह गरेरै गर्नुहुन्छ । माया गरेर घर–जग्गा पनि मेरो नाममा गरिदिनुभएको छ’, उनले थपिन्,‘उमेर एउटै एउटै भएर कुरा पनि मिलेको हो कि ! छरछिमेकीले हामीलाई भगवानले बनाइदिएको जोडी भन्छन् ।’दलबहादुर र श्रीमाया सँगै भरतपुर–१९ का ५३ वर्षीय खगराज शर्मा सापकोटा र ५३ वर्षकै उमेरकी उनकी पत्नी राधा सुवेदी सापकोटा पनि सम्मानित भएका थिए । आफूहरुले २०४६ सालमा बिहे गरेको,त्यसबेलादेखि अहिलेसम्म झगडा नभएको,सौहार्द्रपूर्ण वातावरणमा दाम्पत्य बितेको खगराजले बताए ।

आजसम्म श्रीमानको चित्त नबुझ्ने खालको गल्ती आफूले नदेखेको बताउँदै राधाले भनिन्, ‘हाम्रो झगडा नभएको देख्दा वल्तिर–पल्तिरका छिमेकीहरुले पनि तपाईंहरुलाई रिस नै उठ्दैन कि क्या हो भन्छन् ।’ जे मा पनि धैर्य भएर काम गर्ने, नआत्तिने राधाको बानी आफूलाई निकै मन पर्ने खगराज बताउँछन् । खगराजको पनि गाउँघरमा तडकभडक नगर्ने,छिमेकमा झैझगडा पर्दा राम्रोसँग सम्झाइबुझाइ गरिदिने बानी असाध्यै राम्रो लाग्ने राधाले बताइन् ।

भरतपुर–२० का ५२ वर्षीय टंकप्रसाद पौडेल र ५१ वर्षीया पत्नी सीता पौडेललाई पनि सम्मान गरिएको थियो । समाजमा सकारात्मक प्रभाव पर्ने खालको दम्पत्तिको चालचलन,पारिवारिक आचरण, छोरीछोरी र आमाबाबुप्रतिको जिम्मेवार भूमिका असल भएकैले आफूहरुले महानगरपालिकाबाट सम्मान पाएको टंकप्रसादले बताए । दुवैले सकारात्मक सोच राखेर अगाडि बढ्ने हो भने श्रीमान्–श्रीमतीबीच कलह नै नहुने उनी बताउँछन् ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर हिजो भरतपुर महानगरपालिकाले आदर्श दम्पत्तिहरुलाई सम्मान गरेको हो । कम्तीमा एउटा वडाबाट एउटा जोडीलाई सम्मान गर्ने भनिए पनि २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा जम्मा १९ वटा वडाबाट छनौट भएका १९ जोडीमात्रै कार्यक्रममा सम्मानित भए । सम्मानित हुने अन्यमा वडा नम्बर २ का बुध्दिप्रसाद देवकोटा र उनकी पत्नी चिजमाया देवकोटा,वडा नम्बर ४ बाट श्रीमान–श्रीमती डा. रविमोहन सापकोटा र सुलोचना सापकोटा,वडा नम्बर ५ बाट अनुपकुमार तामाङ र मीना लामा तामाङ,वडा नम्बर ६ बाट जितेन्द्रराज कोइराला र रञ्जु कोइराला हुन् ।त्यसैगरी वडा नम्बर ८ बाट शंकरप्रसाद पौडेल र कल्पना पौडेल, वडा नम्बर ९ बाट ज्ञानबहादुर थापा र धनमाया थापा, वडा नम्बर १० बाट चन्द्रप्रकाश दवाडी र विष्णुमाया दवाडी, वडा नम्बर ११ बाट किशोर गिरी र निर्जला गिरी,वडा नम्बर १२ बाट बालकृष्ण श्रेष्ठ र उषादेवी श्रेष्ठ, वडा नम्बर १३ बाट लालबहादुर गुरुङ र कालिका गुरुङ, वडा नम्बर १५ बाट केदारनाथ अधिकारी र राधिका अधिकारी ज्ञवाली,वडा नम्बर १६ बाट अन्जनप्रसाद अधिकारी र कोपिला अधिकारी, वडा नम्बर २२ बाट ताराराज लुइँटेल र सरस्वती लुइँटेल, वडा नम्बर २४ बाट मेखबहादुर मगर र सोममाया मगर, वडा नम्बर २८ बाट मेघराज गुरुङ र धनकुमारी गुरुङ एवम् वडा नम्बर २९ बाट सुकबहादुर तामाङ र सम्झना तामाङ पनि सम्मानित भएका हुन् ।

विवाह गरेको कम्तीमा २० वर्ष पुगेको,पतिपत्नी,छोराछोरी, आमाबाबुबीच एकापसमा सम्मान, आदर र प्रेमको संस्कार–संस्कृति भएको,छोरा–छोरी जे भए पनि दुई मात्र सन्तान भएको, छोराछोरीमा भेदभाव नगरी निजी होस् या सामुदायिक दुवैलाई एकैथरी विद्यालयमा पढाएको, घरभित्र मात्र नभई घरबाहिर पनि समाजले अनुशरण गर्नसक्ने किसिमको समान र सौहार्द्रपूर्ण व्यवहार गर्ने दम्पत्तिलाई सम्मान कार्यक्रममा छनौट गरिएको महानगरकी प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेलले बताइन् । ‘आदर्श दम्पत्ति त अरु पनि हुनुहुन्छ, सबैलाई एकैपटक सम्बोधन गर्न सकिएन’,उनले भनिन्, ‘यो पहिलो कार्यक्रम हो । यसको प्रभाव र नतिजा हेरेर भोलिका दिनमा अगाडि बढ्ने छौं ।’

समाजमा राम्रो चालचलन,असल व्यवहार गरेका जोडीलाई सम्मान गरियो भने त्यसको प्रभाव पर–परसम्म पुग्छ,अरुलाई पनि आदर्शवान बन्न प्रेरित गर्छ भनेर यो कार्यक्रम आयोजना गरिएको भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले बताए । उनी भन्छन्, ‘जुन घरमा महिला हाँस्छिन्, त्यो घर स्वर्ग बन्छ ।’

‘नारीविना सृष्टि चल्न सक्दैन, घर चलाउनै मुस्किल हुन्छ, पुरुषलाई सफल बनाउनमा महिलाको हात हुन्छ’ कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले भनिन्, ‘नारी–पुरुषले एक अर्कामा नङ र मासुको भूमिका निर्वाह गर्नुपर्छ ।”

अर्कै परिवारका छोरा र अर्कै परिवारकी छोरी मिलेर बिसौं वर्षसम्म सहकार्य गर्दै अगाडि बढ्न त्यति सहज नभए पनि दाम्पत्यलाई यसरी समाजको अगाडि सम्मानलायक बनाएकोमा सम्मानितहरुलाई बधाई ज्ञापन गर्दै उनले भनिन्,‘तपाईंहरुलाई देखेर अरु थुप्रै दम्पत्ति र परिवार पनि उदाहरणीय बन्न सकुन् ।’

लैंगिक विभेद,महिला हिंसा, महिलाअधिकार जस्ता कुरालाई एकांकी रुपमा नभई बहुआयामिक ढंगले हेर्नुपर्ने कार्यक्रमका अध्यक्ष भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले बताए । ‘हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक सोच हावी छ । त्यो भनेको पुरुषले महिलालाई दबाउने कुरा मात्र होइन ।

शक्ति र स्रोतमा पुगेपछि जो कोहीले निर्धामाथि आफ्नो विचार लाद्ने प्रवृत्ति हो । महिलामा पनि अलिकति स्रोत सम्पन्नता भएपछि अहमता देखिन्छ । धनीले गरीबलाई गर्ने विभेद पनि पितृसत्तात्मक सोच नै हो’,उनले भने, ‘त्यसैले जुनसुकै वर्ग वा लिंगको भए पनि एक व्यक्तिले अर्काे व्यक्तिलाई सम्मानजनक व्यवहार गरेमात्रै सभ्य–सुसंस्कृत समाज बन्छ ।’

भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलबाट कार्यक्रमबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रममा भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्याल,जिल्ला प्रहरी प्रमुख नवराज अधिकारी,जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारी,उद्योग वाणिज्य संघ चितवनकी कार्यसमिति सदस्य रजनी मास्के,भरतपुरका विभिन्न वडाअध्यक्ष–सदस्य,कार्यपालिका सदस्य,महिला सम्बन्धित संस्थाका प्रतिनिधिलगायत पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

– अजय गोर्खाली

टिप्पणीहरू