भनेजति भाडा नपाएपछि ट्रक थन्काउने चेतावनी
ट्रक व्यवसायीले भोलिदेखि आफ्ना ट्रक ग्यारेजमै थन्काउने भएका छन् । सरकारले तोकेको भाडादर कार्यान्वयन गर्न नसकेपछि उनीहरुले ट्रक थन्काउने निर्णय गरेका हुन् । सरकारी निकायको बेवास्ताका कारण ट्रक व्यवसायी पलायन हुने अवस्थामा पुगेको भन्दै उनीहरू आज सडकमा उत्रिएका छन् ।
‘सरकारले डिजेल प्रतिलिटर ८० रुपैयाँ हुँदा भाडादर तोकेको थियो । अहिले डिजेलको मूल्य प्रतिलिटर १ सय ३० रुपैयाँ पुग्दा पनि सरकारले भाडादर बढाउँदैन,’ ट्रक व्यवसायी नरेन्द्र खत्री भन्छन्, ‘अब व्यवसाय गर्न नसक्ने अवस्थामा पुग्यौँ ।’
व्यवसायी रामकुमार लिम्बुले सरकारले तोकेको भाडादर नै कार्यान्वयन हुन नसकेको जानकारी दिएका छन् । लगातार डिजेलको मूल्य बढ्दा अप्ठेरोमा परेको उनको भनाइ छ ।
‘हामी त ट्रक बेच्ने अवस्थामा पुग्यौँ,’ उनी भन्छन्, ‘कि सरकारले भाडादर हेरिदियोस् । कि त गाडीको साँचो लिओस् ।’ सरकारले भाडा दर हेरफेर नगरेसम्म ढुवानी ट्रक नचल्ने उनको भनाइ छ ।
भाडादर कम भए पनि ट्रकले पाएको बेलामा क्षमताभन्दा धेरै सामान बोक्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । तर, ट्राफिकले बारम्बार दुःख दिने गरेको ट्रक चालक उमेश चौधरी बताउँछन् ।
‘भाडा नै कम्ती छ । खर्च गरेर कसरी थोरै पैसा भए पनि बचाएर साहुलाई दिनु भन्ने हुन्छ,’ उनी भन्छन्, ‘पाएको बेलामा धेरै सामान बोक्छौँ । ट्राफिकले चिट काट्ने भन्दै दुःख दिन्छ । कहिलेकाहीँ त एकै ट्रिपमा दुई पटकसम्म चिट काट्छ ।’
सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि आन्दोलित बन्नुपरेको ट्रक व्यवसायीको गुनासो छ । ट्रक व्यवसायी प्रभातभूषण दाहालले भोलिबाट मालवाहक सवारी साधन बन्द गर्ने बताए ।
मालवाहक ट्रकले १० टन मात्र सामान ढुवानी गर्न पाउँछ । यातायात व्यवस्था विभागले २०७५ असोज ७ गतेदेखि तोकेको भाडा दरअनुसार तराईमा प्रति किलोमिटर ४ रुपैयाँ ८८ पैसा र पहाडमा ९ रुपैयाँ ९५ पैसा लिन पाउँछन् ।
तर, यो दर हालसम्म कार्यान्वयनमा जान सकेको छैन् । त्यसैले घाटा खाएर भए पनि नेपाली ट्रक व्यवसायीले ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन् ।
टिप्पणीहरू