महिलालाई उचालेर जनप्रतिनिधिद्वारा आफ्नै कार्यालयमा ताला

महिलालाई उचालेर जनप्रतिनिधिद्वारा आफ्नै कार्यालयमा ताला

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलले पालिका कार्यालयमा तालाबन्दी गराएका छन् । अध्यक्ष मण्डलको प्रत्यक्ष निर्देशनमा स्थानीय महिलाहरुले कार्यालयमा ताला लगाएको स्थानीयको आरोप छ ।

नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम कर्मचारीले भुक्तानी नदिएको भन्दै स्थानीय महिलाहरुलाई उचालेर अध्यक्ष मण्डलले ताला लगाउन लगाएको बताइएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर मण्डलको निर्देशनमा ताला लगाइएको स्थानीय श्याम मण्डलले बताए ।

कर्मचारीका कारण भुक्तानी रोकिएको अध्यक्ष मण्डलको आरोप छ । तर,निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले भने निमित्त भएको दुई महिना बितिसक्दा पनि अध्यक्ष मण्डलले अख्तियारी नदिएपछि आर्थिक कारोबार ठप्प भएको बताए ।

पालिकाका एक कर्मचारीका अनुसार अध्यक्ष मण्डलले ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने भनेपछि समस्या बल्झिँदै गएको हो ।

तर,कर्मचारीहरुले त्यसरी भुक्तानी दिन कानुनले नमिल्ने बताएपछि अध्यक्ष आफैँ आफ्नो कार्यालयमा तालाबन्दी गर्न उत्रिएको कर्मचारीहरुको भनाइ छ ।

टिप्पणीहरू