हिजो चुनाव लडेको अवस्था सम्झन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले आफ्नो नेतृत्वमा गठित सरकारका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । आज वीरगञ्जमा नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो-सत्तामा रहेका दलबीच गठबन्धन गरेर निर्वाचनमा जानेबारे छलफल भइरहेको उल्लेख गर्नुभयो । ‘यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार बनाउन सक्दैन । त्यसैले सरकारका लागि गठबन्धन आवश्यक छ,’ उहाँले अगाडि भन्नुभयो,‘हिजो एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो ? तपाईंहरुलाई थाहै छ ।’
प्रधानमन्त्रीले गठबन्धन सरकारमा रहेर निर्वाचनमा प्रतिस्पर्धा गरिएको अवस्थामा स्थानीय तह,प्रदेश र संघमा पनि गठबन्धनको सरकार रहिरहने धारणा राख्नुभएको छ । उहाँले गठबन्धनमा रहेका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी पनि दिनुभयो ।
उहाँको निश्कर्ष छ, ‘२०७४ को चुनावमा काँग्रेस कमजोर भएर हारेको होइन । सबै कम्युनिष्ट एक भएकाले हाम्रो हार भएको हो । त्यसैले गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको छ ।
टिप्पणीहरू