बजेट अभावमा योगीकुटी–तिनाउ सडक अलपत्र
सरकारले बेलैमा बजेट निकासा नगर्दा योगीकुटी–तिनाउ ९सीमा० सडक निर्माणको काम रोकिएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमाना जोड्ने यो सडकको काम सुरु भएको ६ महिना बितिसक्दासमेत सरकारले बजेट उपलब्ध नगराएकाले सडक निर्माण रोकिएको हो ।
यसअघि २७ फिट चौंडा रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो । डिभिजन सडक कार्यालय बुटवलले सडक बिस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम कायम गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उक्त सडकको शीर्षकमा बजेट विनियोजन गरेको बताइन्छ ।
गत साउनमा ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कार्य असोजबाट थालिएको थियो । सडकको कुल लागत ६ करोड ५० लाख रुपैयाँ छ । तर निर्माणमा ढिलाइ हुने भएपछि लागत बढ्ने अवस्था देखिएको निर्माण कम्पनी सिद्धार्थ दर्शन बीकोन जेभी काठमाडौंका प्रबन्ध निर्देशक सरोज गौतमले बताए ।
उनी भन्छन्, ‘पेश्की दिनु त कहाँ हो कहाँ, काम गरेको ५० लाखको पनि भुक्तानी पाइएको छैन । मोबिलाइजेसन, बिल केहीको पनि भुक्तानी नपाएकाले अब काम अगाडि बढाउन सक्ने कुरा नै भएन,’ सरकार परिवर्तनसँगै उक्त सडकअन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ । सवारीसाधनको अत्यधिक चाप हुने सो सडक दिनभर व्यस्त हुने गर्छ ।
व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रु, चालक र सहचालकको स्वास्थ्यसमेत बिग्रिँदै गएको स्थानीय बासिन्दाको गुनासो छ ।
टिप्पणीहरू