शरणार्थीको संख्या र समस्या के हो नेपालमा ?

शरणार्थीको संख्या र समस्या के हो नेपालमा ?

आज मार्च १०,तिब्बतमा कम्युनिस्ट सरकारविरुध्द दलाइ लामा समर्थकहरुले उत्पात मच्चाएको दिन । आजै सन् १९५९ मा दलाइ लामा बस्ने पोताला दरबारबाट धर्म मान्ने जनतालाई भड्काइएको थियो ।

विश्वभर छरिएर रहेका तिब्बती शरणार्थीले आजको दिनलाई मुक्ति दिवसका रुपमा मनाउने गरेका छन् । नेपालमा रहेका तिब्बती शरणार्थीहरुले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गर्दछन् ।

सन् १९५६ देखि सन् १९५९ को मार्च १० सम्म तिब्बतीहरूको आक्रोश उच्च थियो । तिब्बतीहरूले चिनियाँ शासन मान्न अस्वीकार गरेपछि त्यहाँ हिँसा बढ्यो र हजारौँको ज्यान गयो ।

तिब्बती धर्मगुरु दलाई लामा तिब्बत छोडेर भारतको शरणमा पुगे । त्यसपछि उनका अनुयायीहरु पनि विभिन्न देशमा शरणार्थीका रुपमा बस्न थाले ।

नेपालमा झण्डै २० हजार तिब्बती शरणार्थीको बसोबास रहेको बताइन्छ । जसमध्ये करिब १४ हजार वयस्क छन् । उनीहरुमध्ये केही सयले आज विभिन्न गुम्बामा पूजाआजा गर्नुका साथै दलाइ लामाको तस्वीरमा खादा लगाएर ६३ औं “स्वतन्त्रता दिवस” मनाएका छन् ।

विगतमा आजको मौका छोपेर जुलुश,धर्ना हुनुका साथै भारत देहरादुनको धर्मशालाबाट आएका र शारीरिक रुपमा असक्त केहीले आत्मदाहको प्रयाससमेत गर्ने गरेका घटना छन् ।

तर,यसपटक भने कुनै अप्रिय घटना नघटेको र स्वतन्त्र एक चीन नीतिप्रति दृढ नेपालको राष्ट्रिय नीतिलाई अाँच पुग्ने गरी सार्वजनिक रुपमा कुनै उपद्रव नभएको प्रहरीले बताएको छ ।

नेपालले तिब्बती र भुटानी शरणार्थीलाई मात्रै बैध शरणार्थी मानेको छ । अन्य देशका शरणार्थीहरु लुकिछिपी भारत हुँदै नेपाल छिर्ने गरेका छन् । उनीहरु एजेण्टलाई ठूलो रकम बुझाएर नेपाल आउने गरेको खुलेको छ ।

सन् २०२१ को तथ्यांकअनुसार तिब्बती १३ हजार ५१४ ,भुटानी ६५ सय,बर्मेली चार सय ४४,अफगानी ५२,बंगाली ५,पाकिस्तानी १८४, सोमालिया २० श्रीलंका १९, इरान ९, यमन र इराकका एक-एक जना छन् ।

इराकबाट आएका एक शरणार्थी अहिले बिरामी परेर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

टिप्पणीहरू