संरक्षण क्षेत्रमा आगलागी

संरक्षण क्षेत्रमा आगलागी

कञ्चनजंघा संरक्षण क्षेत्रमा आज बिहानदेखि आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । सुख्खा मौसम लागेसँगै कञ्चनजंघा संरक्षण क्षेत्रमा आगलागीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

संरक्षण क्षेत्रमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले पनि आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बुले जानकारी दिएका छन् । ‘भर्खरै एउटा घर जलेर नष्ट भएको खबर आएको छ, आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने ।

डडेलोलाई नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको छ । आगलागी समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ ।

संरक्षण क्षेत्रस्थित फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा आज नै लागेको डडेलो भने स्थानीय संरक्षणकर्मीहरूको पहलमा नियन्त्रणमा आएको कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय प्रमुख वार्डेन रमेश यादवले बताएका छन् ।

टिप्पणीहरू