इजरायली प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच गोप्य वार्ता,अमेरिका सशंकित
फेब्रुअरी २४ तारिखका दिनदेखि रुसले छिमेकी युक्रेनको राजधानीलगायतका शहरमा आक्रमण जारी राखेको छ । हिजो २४ घण्टाको लागि युध्दविराम गरे पनि युध्द पुनः शुरु भएको छ ।
यसबीच २० लाख बढी युक्रेनीले मुलुक छाडेर छिमेकी मुलुकहरुमा शरण लिएका छन् । विश्वका अधिकांश देशले रुसी आक्रमणको निन्दा गरेका छन् । केहीले रुसको समर्थन गरेका छन् भने केही तटस्थ बसेका छन् ।
गत शनिबार इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट एकाएक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गर्न मस्को पुगे । अमेरिकी नेतृत्वमा पश्चिमा मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी गरेका छन् ।
त्यहि अमेरिकाको सुरक्षा छातामा शासन सत्ता सञ्चालन गरिरहेको इजरायल र उसका प्रधानमन्त्री एकाएक मस्को पुग्नु,भेटघाटको विषय सार्वजनिक नगर्नुमा धेरैले धेरैथरि अड्कल लगाएका छन् ।
“विश्लेषण गर्नेहरुले युक्रेनलाई पनि इजरायलजस्तै यहुदी बहुल राज्य बनाउन रणनीतिक पहल गरेको हुनसक्ने अड्कल लगाएका छन् ।”
तीन घण्टा मस्कोस्थित क्रेमलिनमा गोप्य भेटघाट गरेका दुई नेताबीचको कुराकानी बाहिर आएको छैन । उक्त भेट बेनेटले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुअघि भएको हो । मस्कोबाट उनी सोझै जर्मनी गएका थिए भने मस्को जानुअघि पेरिस पुगेर फ्रान्सका राष्ट्रपतिसँग भेट गरेका थिए ।
यता युक्रेनमाथि रुसले आक्रमण गरेपछि राष्ट्रपति पुटिनले विदेशी नेतासँग प्रत्यक्ष भेटवार्ता गरेको त्यो नै पहिलो हो । त्यसअघि बेनेटले पुटिन र जेलेन्सीसँग पटक पटक टेलिफोन वार्ता भने गरेका थिए ।
उक्त भेटघाटको रहस्य खोतल्दै अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरुले भनेका छन् ‘आफ्नो मुुलुकको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री मस्को पुगेको हुनुपर्छ । किनभने सिरियाको दक्षिणी भेगमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको छ । त्यो क्षेत्र इजरायलबाट नजिकै पर्छ । त्यसैले रुससँग सुरक्षा सहयोगमा समन्वय गर्न इजरायली प्रधानमन्त्रीले पुटिनसँग भेट गरेको हुनसक्छ ।’
अर्कोतर्फ युक्रेनी राष्ट्रपति जेलेन्स्की यहुदी हुन् । उनको परिवारका अधिकांश सदस्य इजरायलमै बस्छन् । राष्ट्रपति हुनुअघि उनले धेरै पटक इजरायल भ्रमण गरेका छन् । त्यो दृष्टिकोणबाट विश्लेषण गर्नेहरुले युक्रेनलाई पनि इजरायलजस्तै यहुदी बहुल राज्य बनाउन रणनीतिक पहल गरेको हुनसक्ने अड्कल लगाएका छन् ।
प्यालेष्टाइन अधिनस्थ राज्यबाट प्यालेष्टिनीहरुलाई भगाएर इजरायलमा यहुदीले राज गरेको सन्दर्भलाई उनीहरुले युक्रेन र राष्ट्रपति जेलेन्सीसँग जोडेका हुन् ।
टिप्पणीहरू