माधव नेपालको प्रतिवेदन पारित

माधव नेपालको प्रतिवेदन पारित

अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ । अध्यक्षको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गर्दै दुई दिने बैठक आज सकिएको हो ।

बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र मोर्चा संगठन सञ्चालन निर्देशिका तथा सम्पर्क मञ्च सञ्चालन निर्देशिकामा छलफल गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई नौ समूहमा विभाजन गरिएको थियो ।

प्रत्येक समूहद्वारा निर्धारित समयभित्र उपयुक्त सबै विषयमा छलफल गरी एक जना प्रस्तोतामार्फत समूह छलफलका निष्कर्ष पूर्ण बैठकमा पेश गरिएको थियो ।

बैठकबाट मोर्चा संगठन र सम्पर्क मञ्च सञ्चालन निर्देशिकासमेत पारित भएको छ । बैठकबाट १४ बुँदे समसामयिक प्रस्ताव पनि पारित गरिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशबाट रेखा थापा बस्याल,सुदूर पश्चिम प्रदेशबाट शेरबहादुर कुँवर,मधेश प्रदेशबाट सत्यनारायण यादव, १ नम्बर प्रदेशबाट धर्मराज पौडेल, बागमती प्रदेशबाट विदुर सापकोटा, कर्णाली प्रदेशबाट अमर थापा, लुम्बिनी प्रदेशबाट राज गुरुङ, उपत्यका तथा सम्पर्क विशेष प्रदेशबाट केदार सञ्जेल र मोर्चा तथा विभागबाट प्रमेश पोखरेलले समूह छलफलका निष्कर्ष प्रस्तुत गरेका थिए ।

त्यसपछि अध्यक्ष नेपालले छलफलमा उठेका विषयमा प्रष्ट पार्नुभएको थियो । पारित प्रतिवेदनमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, एमसीसी र त्यसको व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्म भएका संगठनात्मक कार्यहरूको समीक्षा र पार्टीको आगामी कार्य योजनालगायतका विषय समेटिएको छ ।

बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठकपश्चात् स्थायी कमिटी र केन्द्रीय सचिवालयबाट गरिएका राजनीतिक एवं साङ्गठनिक निर्णयहरू अनुमोदन पनि गरेको छ ।

टिप्पणीहरू