दोहन गरिएको जग्गा कब्जा गरिएको दावी

दोहन गरिएको जग्गा कब्जा गरिएको दावी

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको छ । वडाध्यक्ष हर्ष महर्जनसँग मिलेमतो गरेर लोहनीले सरकारी जग्गा दोहन गरेको आरोप लगाउँदै क्रान्तिकारीले जग्गा कब्जा गरेको बताएको हो ।

मध्य केन्द्रीय कमाण्डका इञ्चार्ज हिक्मतको नामबाट आज विज्ञप्ति जारी गर्दै क्रान्तिकारीले आफ्नो अनुमति बिना सो जग्गामा कुनै काम नगर्न चेतावनीसमेत दिएको छ ।‘हाम्रो नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) को जनसत्ताले सो कीर्तिपुर नगरपालिका १, को निज कैलाश लोहनीको जग्गा कब्जा गरेको आमजनसमुदायलाई जानकारी गराउन चाहन्छौं । र, सो जग्गामा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) को अनुमति बिना कुनै कार्य नगर्न/नगराउन हार्दिकतापूर्वक सूचित गर्दछ’,विज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक जग्गामा अवरोध सिर्जना गरी आवतजावतमा समस्या भएको र यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदासमेत सुनुवाई नभएपछि कब्जा गर्नुपरेको सो पार्टीको भनाइ छ ।

वडाध्यक्ष र लोहनीले गुण्डागर्दी शैलीमा आफ्नो जग्गा बिक्री गर्नका निमित्त सरकारी जग्गा दोहन गरी व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरी बाटो बिस्तार गरेको भन्दै अवरोध हटाउन पनि भनिएको छ ।

टिप्पणीहरू