ल्हार्क्याल लामा भेट्न प्रचण्ड रातारात शिवपुरीमा
बैंकको लकरमा हतियार र अवैध विदेशी मुद्रा थुपार्ने विवादास्पद लामालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रातारात दक्षिण खुमलटारबाट उत्तरको शिवपुरी फेद पुग्नुभएको छ । पछिल्ला दिनमा प्रायः सबै नेता दाहाललाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्ने गरेका छन् । तर ल्हार्क्याललाई भेट्न अध्यक्ष प्रचण्ड रात पारेर बूढानीलकण्ठ जानुमा माओवादी नेता-कार्यकर्ताले अचम्म मानेका छन् ।
प्रचण्डले लामालाई भेट गरेको सम्बन्धमा नाम नबताउने शर्तमा माओवादीका एक जना नेता भन्छन्, ‘रातारात ल्हार्क्याललाई भेट्न अध्यक्ष किन जानुभयो ? हामी जम्मै नेता खुमलटार धाउँछौं तर उहाँ भने रात पारेर बूढानीलकण्ठ उक्लनु राम्रो भएन ।’
प्रचण्ड हिजो साँझ ७ नबज्दै खुमलटारबाट निस्कनुभएको थियो । लामाको निवास बूढानीलकण्ठ नगरपालिका २,गणेशचोक पुग्दा सवा ७ बजेको थियो । उहाँ लामासँग झण्डै एक घण्टा कुराकानी गरेर खुमलटार फर्कनुभयो । एक्लै जानुभएका प्रचण्डको हिजो साँझको भेटले दु:खमा पार्टी जोगाएका गोविन्दबहादुर बटालाहरुलाई क्रुध्द बनाएको बताइन्छ ।
टिप्पणीहरू