माओवादीद्वारा मारिएकाको परिवारलाई एमालेको सम्मान

माओवादीद्वारा मारिएकाको परिवारलाई एमालेको सम्मान

नेकपा एमाले रोल्पाले तत्कालीन नेकपा माओवादीद्वारा सामूहिक हत्या गरिएकाहरुको परिवारलाई सम्मान गरेको छ । माओवादीले जनयुद्धकालमा ग्यास च्याम्बर बनाएर हिटलरी शैलीमा रोल्पामा सामूहिक हत्या गरेको आरोप लाग्दै आएको छ ।

२०५५ फागुन २६ गते लुङ्ग्री गाउँपालिकास्थित हार्जङमा स्थानीय बलबहादुर रोकाको घरमा भेला भएका एमाले कार्यकर्तालाई माओवादी कार्यकर्ताले ढोका थुनेर जिउँदै आगो लगाएका थिए । उक्त नरसंहारमा मारिएका सहिद परिवारलाई एमाले रोल्पाले फागुन २६ गते कालो दिनको सम्झना गर्दै सम्मान गरेको हो ।

माओवादी कार्यकर्ताहरूले झोसेको आगो खरको छानोमा एकैछिनमा सल्किएको थियो । त्यसपछि हल्लिखल्ली भयो, उनीहरू भाग्न खोजे तर ढोका बन्द थियो । घरभित्रबाट भाग्न खोज्दा पनि माओवादी कार्यकर्ताले ताकेर गोली हानी धेरै जनालाई ढोकामै ढालेको प्रत्यक्षदर्शी बलबहादुर रोका बताउँछन् ।

सहिद परिवार सम्मानको लागि नेकपा (एमाले) का केन्द्रीय सदस्य कुमार दसौँदी,ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढा,उपाध्यक्ष विजय घर्ती,उपसचिव दीपक विष्ट,रोल्पा नगरपालिका अध्यक्ष घनश्याम आचार्य,लुंग्री अध्यक्ष प्रशुराम घर्ती हार्जङमै पुगेका हुन् ।

“भाग्न खोज्दा पनि माओवादी कार्यकर्ताले ताकेर गोली हानी धेरै जनालाई ढोकामै ढालेको प्रत्यक्षदर्शी बलबहादुर रोका बताउँछन् ।”

फागुन २६ गतेको उक्त घटनामा स्थानीय आठ जनाको हत्या भएको थियो । १० जना घाइते भए र तीन जनालाई अपहरण गरिएको थियो । तीमध्ये एकजना अपहरणबाटै भाग्न सफल भएका थिए भने दुई जनालाई चरम यातना दिएर छाडिएको थियो ।

‘जलेर घाइते मेरो बूढालाई झ्यालबाट भाग्न खोज्दा गोली हानेर मारे,’५७ वर्षीया दिलमता गिरी सुनाउँछिन्,‘आठ जनालाई जिउँदै जलाएर मारेका हुन् । मेरो भाइलाई पनि जलाए । अनुहार कसैको नचिन्ने मुढाजस्तो थियो लाश ।’

स्थानीयहरू उक्त कहालीलाग्दो घटना सम्झेर अहिले पनि बेलाबेला झस्किन्छन् । युद्धताका रोल्पाको पूर्वी भेगमा माओवादी कार्यकर्ताहरुको अन्तभन्दा राम्रो प्रभाव थियो । त्यतिबेला माओवादीका स्थानीयले घरको भित्तामा आफूलाई मन लागेको नारा लेखेर जान्थे ।

अर्को दिन बिहानै सरकारी सेना गाउँ छिरेर सर्वसाधारणमाथि हातपात गर्नु सामान्य जस्तै भएको स्थानीय बताउँछन् । सेनाको क्रुर आतंकबाट जोगिन गाउँलेहरूले नारा मेटाएपछि माओवादी कार्यकर्ताले ‘किन नारा मेटाएको’ भन्दै सबैमाथि कुटपिट गर्थे ।

त्यो बेला हार्जङवासीले समिति नै बनाएर सरकारी सेनाबाट जोगिन नारा मेटाउने अभियान थाले । ‘हार्जङ हत्याकाण्ड’ को तीन दिनअघिको राति नारा लेख्न रोक्ने स्थानीय र लेख्न आएका माओवादी कार्यकर्ताहरूबीच झडप भएको घटना स्थानीयले अहिले पनि सम्झेका छन् ।

माओवादीले बुबा मनबहादुर गिरीलाई जिउँदै आगो झोसेर मारेको खबर सुन्दा छोरा मोहन गिरी (३६) त्यतिबेला १३ वर्षका थिए । त्यो घटना सम्झिँदा उनलाई अहिले पनि डर लाग्ने गरेको कहानी सुनाए ।

टिप्पणीहरू