‘माओवादी सेल्टर’मा दर्जन बढी सकेट बम भेटिए

‘माओवादी सेल्टर’मा दर्जन बढी सकेट बम भेटिए

रुकुम पूर्वको सिस्ने गाउँपालिका २, मा एक दर्जन बढी सकेट बम फेला परेको छ । स्थानीय प्वाङको बुर्केसल्ला भन्ने स्थानमा कालो प्लास्टिकको ड्रमभित्र लुकाई राखेको अवस्थामा दर्जन बढी सकेट बम फेला परेका हुन् ।

वडाध्यक्ष जीवन केसीले हिजो दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको जानकारी दिएका छन् । ‘जंगलमा लुकाएर राखेको अवस्थामा ड्रमभित्र शंकास्पद वस्तु देखेको वडा कार्यालयमा जानकारी आयो’ वडा अध्यक्ष केसीले भने, ‘हामीले इलाका प्रहरी कार्यालय प्वाङको प्रहरीलाई साथमा लिएर जाँदा सकेट बम नै रहेको पत्ता लाग्यो ।’

जंगलमा रहेको ओढारमा ड्रमभित्र लुकाई राखेका शंकास्पद वस्तुहरु सकेट बम नै रहेको प्रहरीले जनाएको छ । बम कति संख्यामा छ भन्ने यकीन नभए पनि कालो रंगको ड्रमभित्र दर्जनभन्दा बढी नै रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।

“रुकुमका वन पाखामा अहिले पनि जनयुद्वको क्रममा लुकाएर राखिएका विस्फोटक पदार्थहरू फेला पर्ने गरेको वडाध्यक्ष केसीले बताए ।”

सकेट बम रहेको स्थानलाई प्रहरीले निगरानी गरिरहेको र आज बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट नेपाली सेनाको टोली गएर डिस्पोज गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बम भेटिएको स्थान सदरमुकाम रुकुमकोटबाट एक दिन पैदल दूरीमा रहेको छ ।

उक्त बम जनयुद्वको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाएको हुनसक्ने प्रहरीको अनुमान छ । रुकुमका वन पाखामा अहिले पनि जनयुद्वको क्रममा लुकाएर राखिएका विस्फोटक पदार्थहरू फेला पर्ने गरेको वडाध्यक्ष केसीले बताए ।

बम फेला परेको स्थान विगतको सशस्त्र द्वन्द्वको क्रममा माओवादीले सेल्टरको रुपमा प्रयोग गर्ने गरेको समेत वडा अध्यक्ष केसीले उल्लेख गरे । उनले भने, ‘यस्तो जोखिमपूर्ण अवस्थाको दीर्घकालीन तथा सुरक्षित व्यवस्थापन जरुरी छ ।’

टिप्पणीहरू