नारी दिवसमा झन् नमज्जा

नारी दिवसमा झन् नमज्जा

आयोजक उही, भूमिका उही, मात्र कार्यक्रमस्थल फरक । अघिल्लो पटक कमलादी पुगेर कार्यक्रमको शोभा र गरिमा बढाइदिनुहुने राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक त्यहाँबाट एक किमि मात्र परको दूरीमा रहेको राष्ट्रिय सभा गृहमा किन पाइला नटेक्नुभएको होला ? महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हरेक वर्ष आठ मार्च अर्थात् महिला दिवसको अवसर पारेर कार्यक्रम आयोजना गर्दै आएको छ ।

अघिल्लो वर्ष कमलादीमा यस्तो कार्यक्रम आयोजना गरिएकोमा यसपटक भेन्यु फेरियो राष्ट्रियसभागृह । तर, यसपटक ‘आउँछु’ भनेर पनि अन्तिममा राष्ट्रपतिले नमान्नुभएपछि त्यहाँका कर्मचारीले प्रश्न गर्न थालेका छन् ‘सबैको साझा हुनुपर्ने राष्ट्रपति किन चुक्नुभयो ?’

सचिव हरि मैनालीसहितको एउटा टोली ८ मार्चको कार्यक्रममा प्रमुख अतिथिका हिसाबले निमन्त्रणा दिन शीतलनिवास पुगेको थियो । राष्ट्रपतिले कार्यक्रममा उपस्थित हुने वचनबद्धता समेत व्यक्त गर्नुभएको थियो तर अकस्मात् मंगलबार बिहान कार्यक्रम शुरु हुनु केहीअघि मात्र असमर्थताको खबर आएपछि महिला मन्त्रालयका कर्मचारी चकित परेका छन् ।

सो कार्यक्रममा विशेष अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा आमन्त्रित हुनुहुन्थ्यो । मन्त्रालय स्रोतका अनुसार अघिल्लो वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो भने, विशेष अतिथि केपी शर्मा ओली ।

राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले भने ‘सो कार्यक्रममा सहभागी हुनेबारे राष्ट्रपतिले वचन नदिनुभएको’ जिकिर गरेका छन् ।

टिप्पणीहरू