एमालेका ‘बा’ भन्नुहुन्छ : रामका बा नेपाली नै हुन्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्याउनु भएको छ । आज पार्टी निकट पत्रकार प्रेस चौतारीको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले रामका बा चितवनको ठोरीमा जन्मिएको दाबी गर्नुभएको हो ।
ओलीले ठोकुवा गर्दै भन्नुभयो, ‘रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो ।’
ओलीले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वभाविक नहुने पनि बताउनुभयो । ‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पत्ति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने,झ उहाँले भन्नुभयो, ‘राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन ।’
सत्ययुग, त्रेतायुग, द्वापरयुग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन पनि ओलीले आग्रह गर्नुभयो । ‘रावणको पालामा जुत्ता चप्पल बनेको थिएन । लक्ष्मणले रामको खराउ मागेर त्यसलाई सिंहासनमा राखेर राज्य गर्छु भनेका थिए,’ कहानी सुनाउँदै ओली भन्नुहुन्छ, ‘कपडा बनिसकेको थिएन । अरु सबै होहल्ला हुन् । तर, आज हामी विकासको शिखरमा छौं । पृथ्वीको सृष्टि पार गरेर सबैभन्दा सुविधायुक्त समयमा छौं ।’
टिप्पणीहरू