एमालेनिकट कर्मचारीमा कसको बिजोग,कसको सन्जोग ?
नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशन आज र भोलि हुँदैछ । महाधिवेशनको एक दिन अगाडि हिजो बेलुकासम्म पनि संगठनभित्रको भाँडभैलो मिल्न नसकेको एकथरिले बताएका छन् ।
यसअघि पनि अध्यक्ष र महासचिवबीच मनमुटाव भएपछि त्यसले उग्र रुप लिँदा फुटको नियती भोग्न परेको थियो । त्यतिबेला अध्यक्ष केदार देवकोटा र महासचिव रेवन्त गौतमबीचको मनमुटावले संगठन विभाजनको बीउ रोप्यो । एमालेको विभाजनपछि गौतम माधवकुमार नेपाल निकट भएको भन्दै कर्नरमा पर्न थालेपछि संगठनबाट बाहिरिए ।
केही समयपछि महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बनाउने भनेर आश्वासन उनलाई एमालेमै फर्काइयो । पहिले काटाकाटको सम्बन्ध भएका गौतम र देवकोटाबीच पछि अस्वाभाविक पिरती गाँसिएको पनि तलका कार्यकर्ताले देख्न पाए ।
‘कस्तो खालको सापटी होला त्यो कहिल्यै फर्काउन नपर्ने ?’
गौतमलाई उपाध्यक्षको आश्वासन दिएर माधव क्याम्पबाट थुते पनि त्यहि संगठनमा रहेकी भवानी दाहालले वरिष्ठ उपाध्यक्ष घटी बस्न नमान्नु अस्वाभाविक पनि थिएन त्यसैले नेतृत्वलाई आजदेखि शुरु महाधिवेशन फलामको चिउरा हुने निश्चित अवस्था आइलाग्यो । यता रेवन्तलाई वरिष्ठ उपाध्यक्ष दिने भनिएको र दाहालले समेत दावी नछाडेकाले भाँडभैलो हुने लक्षण देखिएको एक जना महाधिवेशन प्रतिनिधिले बताए ।
यसअघि संगठनबाट गौतम हिँडेपछि रिक्त महासचिवमा माओवादीबाट एमाले पसेका प्रवास साहलाई तोकिएको थियो । उनी रामबहादुर थापा बादलनिकट मानिन्छन् । अहिले उनलाई पनि किनारा लगाइएको छ । महासचिवलाई महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन बनाउने जिम्मासमेत नदिइएको साह निकटस्थहरुले बताए । भेटनरी डाक्टर साहलाई आठ कक्षा पास भनेर हल्ला गरिएकाले उनको मन खिन्न भएको छ ।
महाधिवेशन शुरु हुनै लाग्दा अहिलेसम्म महासचिव को हुने टुंगो लागेको छैन । देवकोटाले घिमिरे थरका कर्मचारीलाई अघि सार्न खोजेको स्पष्ट भएको छ । उनी सर्वोच्च अदालतमा कार्यरत छन् । अस्ति महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो । त्यहाँ साहको सट्टा घिमिरेलाई नै विज्ञप्ति पढ्न लगाइयो । महासचिवमा अघि सारिएका उम्मेदवारको उच्चारण सुनेपछि धेरैले मुख हेराहेर गरे ।
“हालै मनाइएको अध्यक्ष केपी ‘बा’ को बर्थडेमा देवकोटा अजंगको केक बोकेर बालकोट गएका थिए । झण्डै सवा सय जनालाई खान पुग्ने सिंगल केक कत्रो थियो होला सहजै अनुमान लगाउन सकिन्छ ।”
यसअघि केदारले विभिन्न बैठकमा घिमिरेको लेखाई र बोलाइ सरर्र छ भन्दै प्रमोट गरेका थिए । रोलक्रमअनुसार त देवकोटाको ठाउँमा लेखनाथ कोइराला अध्यक्ष बन्नुपर्ने हो भनिन्छ । कोइरालालाई पनि माधव नेपाल निकटको बिल्ला भिराइएको चर्चा छ । उनी साहसँग पनि निकट भएपछि सकेसम्म कित्ता बाहिर पार्न खोजिएको बताइएको छ । केदार वा ‘बा’ समूहका हर्ताकर्ता र प्रभावशाली खोज्ने क्रममा अध्यक्षको निम्ति अर्को उम्मेदवार फेला नपरिसकेको बुझिएको छ ।
हालै मनाइएको अध्यक्ष केपी ‘बा’ को बर्थडेमा देवकोटा अजंगको केक बोकेर बालकोट गएका थिए । खिसिट्युरी गर्नेले ५० किलोको केक भनेरसम्म उडाएका छन् । बर्थ डे पार्टीमा उपस्थित झण्डै सवा सय जनालाई खान पुग्ने सिंगल केक कत्रो थियो होला सहजै अनुमान लगाउन सकिन्छ ।
केही गरी लेखनाथ कोइराला अध्यक्ष बने पनि उनले चाहेको व्यक्तिलाई महासचिव नदिने योजनामा देवकोटा समूह कम्मर कसेर लागेको सुनिन्छ । ताकि भोलिका दिनमा कहिँ कतैबाट अप्ठेरो नहोस् ।
महाधिवेशनको मुखैमा आउँदा एकथरिले अहिले उनै देवकोटाको श्रीसम्पत्तिको चर्चा चलाएका छन् । भन्नेले त उनले सिन्धुलीमा दुई करोडभन्दा बढीको लागतमा भव्य घर बनाउँदै गरेको प्रचार गरेका छन् । त्यस्तो होला र भन्ने जिज्ञाशामा स्रोतले भन्यो, ‘के को नहुनु नि ! कालो शिशा हालेर बिजनेस कम्प्लेक्स बनाइएको छ ।’
त्यसैगरी यहिबेला उनले लिएको सापटी रकमवारे पनि हल्ला व्यापक छ । धेरै जना कर्मचारी साथीसँग लिएको सापटी वापतको दुई करोड रुपैयाँमा घर बनाइएको भन्ने देवकोटाको भनाइलाई उनीहरुले निको मानेको देखिँदैन । भन्छन्, ‘कस्तो खालको सापटी होला त्यो कहिल्यै फर्काउन नपर्ने ?’
उनले राजधानीमा पनि चार तलाको घर बनाएकाले ट्रेड युनियनका नेताको विलासी जीवनवारे महाधिवेशनमा कुरा उठ्ने सम्भावना छ भनिन्छ ।
टिप्पणीहरू