नेताहरुमा हेलिकप्टर मोह,नजिकै जान पनि हेलिकप्टर

नेताहरुमा हेलिकप्टर मोह,नजिकै जान पनि हेलिकप्टर

पछिल्ला दिनमा मुलुकका प्रमुख दलका नेताहरुबीच नजिकै जान पनि हेलिकप्टर चढ्ने होडबाजी देखिएको छ । केही पहिलेसम्म विमान यात्रालाई समेत महँगो र खर्चिलो ठान्ने उनै नेताले अहिले हेलिकप्टर बुक गरेर उड्न थालेका हुन् ।

२०४६ सालको परिवर्तनपछि सिमित नेतामा प्राडो र पजेरो मोह झल्केको थियो । झण्डै एक दशक उक्त मोहले उग्र रुप लियो । त्यसपछि राजनीतिक दलका कार्यक्रममा जान उनीहरुले सकेसम्म विमान यात्रा रोज्न थाले ।

अहिले आन्तरिक विमानको सट्टा हेलिकप्टर बुक गरेर उड्न थालेका छन् । पहिले प्रतिकूल मौसम,समय र अत्यावश्यक अवस्थामा मात्र विमान र हेलिकप्टरको प्रयोग गरिन्थ्यो । तर अहिले घण्टाकै लाखौं रुपैयाँ तिर्नुपर्ने हेलिकप्टरको प्रयोग सामान्य हुँदै गएको छ ।

सोही क्रममा आज नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका अध्यक्षले एक एक वटा हेलिकप्टर प्रयोग गर्नुभएको छ । एमाले अध्यक्ष काठमाडौंबाट हेलिकप्टर लिएर वीरगञ्ज पुग्नुभएको छ भने समाजवादी अध्यक्ष माधवकुमार नेपाल धादिङ उड्नुभएको हो । सडक मार्गबाट सजिलैसँग पुगिने दुवै स्थानमध्ये वीरगञ्जको लागि सिमरासम्म हवाइ उडान नै नियमित छ ।

अध्यक्ष नेपाल आज एभरेष्ट हेलिको हेलिकप्टरमा चढेर धादिङको बैरेनी जानुभएको छ । उहाँ पाँच सदस्यीय टोली लिएर साढे १२ बजे काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नुभएको काठमाडौं विमानस्थल स्रोतले बताएको छ ।

उता एमाले अध्यक्ष ओली पनि पाँच सदस्यका साथ अन्नपूर्ण मिडिया ग्रुपका साहुजी रामेश्वर थापाको सिम्रिक हेलिकप्टर लिएर वीरगञ्ज पुग्नुभएको छ । उहाँ पनि मोटामोटी उही समयमा काठमाडौंबाट प्रस्थान गर्नुभएको हो । फरक यत्ति हो उहाँहरु चढ्नुभएको हेलिकप्टर भिन्दाभिन्दै कम्पनीका हुन् भने ओली काठमाडौंबाट दक्षिण लाग्नुभयो,नेपाल पश्चिमतर्फ ।

टिप्पणीहरू