फरक क्षमताका व्यक्तिको सिप विकास गरिँदै

फरक क्षमताका व्यक्तिको सिप विकास गरिँदै

पाँचथरमा फरक क्षमताका व्यक्ति र परिवारको सिप विकासमा जोड दिन थालिएको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत त्यस्ता व्यक्ति र तिनका परिवालाई सिप सिकाउँदै व्यवसायिक समेत बनाउन थालिएको छ ।

करुणा फाउण्डेशन, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र स्थानीय सरकारको सहयोगमा पञ्चमी युनेस्को क्लबले सिप विकास तालिम सञ्चालन गरेको हो । जिल्लाका अधिकांश स्थानमा तालिम सञ्चालन भइरहेको क्लबका अध्यक्ष प्रदीप भण्डारीले जानकारी दिए ।

‘कतिपय स्थानमा तालिम सम्पन्न भएको छ,’ भण्डारीले भने ‘धेरै स्थानमा तालिम सञ्चालन गर्ने तयारी छ ।’ कुम्मायक गाँउपालिका १ र २ मा मुढा बुन्ने र खेलौना बनाउने तालिम सम्पन्न भएको छ । स्याबरुम्बामा सिलाई कटाई तालिम चलिरहेको छ । फिदिम नगरपालिका ११ मा बाँसको फर्निचर बनाउने तालिम सम्पन्न भएको छ । चुडामणि बाँस्कोटाले फर्निचर बनाउने तालिम दिइरहेका छन् ।

फिदिम १२ मा फर्निचर बनाउने तालिम सञ्चालन भइरहेको छ । रानीटारमा व्युटिसियन तालिम चलिरहेको भण्डारीले बताए । यस्ता तालिममा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरु सहभागि छन् ।

तुम्बेवा गाउँपालिकाको मौवामा खेलौना बनाउने र हाउस वायरिङको तालिम सञ्चालन गर्ने तयारी भइरहेको छ । तुम्बेवाको ओखरबोटेमा मुढा बुन्ने तालिम र तुम्बेवा २ मा बाख्रापालन सम्बन्धि तालिम गराइएको छ ।

अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई यस्तो तालिम दिइएको करुणा फाउण्डेसनका पाँचथर संयोजक केदार भण्डारीले बताए । ‘अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनस्तरमा सुधार ल्याउन तालिम सञ्चालन गरिएको हो,’ भण्डारीले भने ‘यो कार्यक्रम निकै प्रभावकारी देखिएको छ ।’

टिप्पणीहरू