निशान–याङवरक क्षेत्रमा पर्यटकीय पूर्वाधारको शिलान्यास

निशान–याङवरक क्षेत्रमा पर्यटकीय पूर्वाधारको शिलान्यास

पाँचथरको उत्तरी याङवरक गाँउपालिकामा निशान कालिकाधाम तथा याङवरक पोखरी संरक्षण योजनाको शिलान्यास भएको छ । ६ करोड ४४ लाख २४ हजार रुपैयाँको बजेटमा विभिन्न संरचना निर्माण गर्ने गरि ठेक्का लगाइएको उक्त योजनाको प्रतिनिधि सभा सदस्य तथा पूर्वपर्यटन मन्त्री योगेश भटराईले शिलान्यास गरेका हुन् ।

संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र याङवरक गाँउपालिकाको लागत साझेदारीमा पर्यटकीय पूर्वाधार विकासका लागि काम अघि बढाइएको छ । याङवरक पोखरी, निशान प्रदर्शन हुने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनाउन सकिने उपयुक्त थलोको रुपमा रहेको छ ।

ग्रामीण जनजीवन रहेको उक्त क्षेत्रमा गाँउपालिकाको प्रशासकीय भवन समेत निर्माण हुँदैछ । पर्यटकीय पूर्वाधार निर्माण भएपछि यहाँँ चहलपहल अझै बढ्ने अपेक्षा स्थानीयले गरेका छन् ।

ऐतिहासिक महत्व बोकेको सो क्षेत्रमा पूर्वाधार निर्माणपछि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने भट्टराईको दाबी छ । ‘यो ठाउँमा मौलो पूजा गर्ने, निशान पूजा गर्ने कुराबाट परिचित नै थियौँ,’ भट्टराईले भने ‘यो ऐतिहासिक र पुरातात्विक महत्वको ठाउँ भएकाले यसको संरक्षण र विकास गर्नुपर्छ भन्ने हामी सबैको चाहना हो ।’

उक्त निर्माण कार्य २०८१ असोजसम्ममा सकिने छ । आयोजनाअन्तर्गत निशान कालिकाधाम र याङवरक पोखरीको विस्तार एवम् निर्माणसँगै बाल उद्यान (चिल्ड्रेन पार्क), विश्रामस्थल, धार्मिक तथा साँस्कृतिक महत्वका मूर्तिहरु, माछापोखरी र धाराहरु, विश्राम तथा सेल्फी खिच्ने ठाउँ, घण्टीहरु, फूलबारी र पोखरीको दृश्य, नागको मूर्ति, मुख्य प्रवेशद्वार, याङवरक स्तम्भ, हतियारका आकृतिलगायत संरचना निर्माण हुने याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिए ।

साझेदारीमा अघि बढाइएको योजना सम्पन्नपछि उक्त क्षेत्र थप व्यवस्थित हुने र आन्तरिक पर्यटकको महत्पूर्ण गन्तव्यस्थल बन्ने अपेक्षा गाँउपालिकाका अध्यक्ष लेखनाथ घिमिरेको छ ।

सो स्थानमा हरेक वर्ष दशैंको नवमीमा निशान प्रदर्शन, पूजा, बलि दिने तथा ठूला मेला लाग्ने गर्छ । यहाँ नेपाल एकीकरणको क्रममा भएको सम्झौतामा निशान प्रदान गरिएको श्री कम्फू, श्री जंगी निशान तथा माङधमा संरक्षण समितिका सचिव महेन्द्र सेलिङले बताए । याङवरक पोखरी पनि निक्कै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

टिप्पणीहरू