सर्वोच्चमा गोलाप्रथा तलमाथि परेपछि ..

सर्वोच्चमा गोलाप्रथा तलमाथि परेपछि ..

गत बिहीबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा अरु सबै इजलासको मुद्दा गोलाप्रथाबाट छान्न लगाए पनि संवैधानिक इजलासमा जाने मुद्दाको पेशी चाहिँ आफैले लिनुभयो ।

सोही सन्दर्भमा जनआस्थाले एक जना कर्मचारी प्रशासन हेर्ने सहसचिवलाई सोधेको थियो ‘सबैको सरसल्लाहमा त्यसो गरिएको हो र ?’ मुसुक्क हाँस्दै उहाँले भन्नुभयो, ‘अलि अगाडि गरिएको जस्तो कुनै सल्लाह भएको छैन । अहिले सल्लाहमा यो काम गरिएको पनि होइन ।’

तर उहाँले ठाउँ राख्दै भन्नुभयो, ‘प्रधानन्यायाधीश र न्यायपरिषद्को क्षेत्राधिकारभित्रका कुरा धेरै हुन्छन् । त्यहि आधारमा गरेको हुनुपर्छ ।’ हुन पनि केही महिनाअघि हाल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको विरुद्ध इजलास बहिष्कार गर्दा डेढ दर्जन न्यायाधीशले तल्ला अदालतका न्यायाधीश नियुक्ति मापदण्ड बनाएर मात्र गर्ने भन्ने बोल्ड सहमति गरेका थिए ।

“केशरी पण्डित र उच्च अदालत पोखराबाट अवकाश हुनुभएका यज्ञ बस्याल पनि उस्तै होनहार भएको धेरैले स्वीकारेका छन् ।”

त्यस सम्बन्धमा पनि उनै कर्मचारीले भन्नुभयो, ‘त्यस्तो सहमति सर्वोच्चको हकमा होइन । अहिले विशेष परिस्थितिमा उहाँले यो काम गर्नुभयो होला ।’ बिहिबारको एकल इजलासमा मुद्दा रोज्ने क्रममा गोलाप्रथा प्रयोग नगरिएकोवारे प्रश्न उठाएको छ । हुन पनि त्यो दिन सर्वोच्चमा दुई वटा सिंगल बेञ्च थियो । एउटा प्रकाशकुमार ढुंगानाको र अर्को डा.मनोजकुमार शर्माको ।

पहिले पहिले गम्भीर प्रकृतिका मुद्दाहरु प्रायः सिंगल बेञ्चमा लगेर संवैधानिकमा पठाउने प्रचलन थियो । अहिले गोलाप्रथा शुरु भैसकेपछि पनि किन सिस्टम भत्काइयो ? अरु न्यायाधीशहरुले पनि ‘थाहा छैन’ भन्दै यतिसम्म चाहिँ भन्न भ्याउनुभएको छ, ‘प्रश्न उठाउने ठाउँ प्रशस्त देखियो । ’

न्यायाधीश हरिकृष्ण कार्कीको अदालत सुधारसम्बन्धी प्रतिवेदनमा मुद्दाहरुलाई अटोमेशनमा लैजाने भनिएको छ । स्रोत भन्छ, ‘त्यो एकदम एडभान्स प्रतिवेदन छ । प्रतिवेदनमा गोला भनिए पनि त्यो गोला कम्प्युटरबाट हुन्छ । त्यसो गर्दा हेर्न नमिल्ने मुद्दा नरहने र सबै काम पारदर्शी ढंगले कम्प्युटरबाट हुनेछ ।’

उक्त प्रतिवेदन साउन १ गतेदेखि लागु हुँदैछ । अस्तिको घटनाबाहेक सबै इजलासमा मुद्दा गोलाप्रथाबाट भइरहेको छ । ‘बिहीबारको मुद्दाले अदालतलाई बाडुली भने लगाएको छ,’ एक जना श्रीमानले कुरै कुरामा छुुस्स सुनाउनुभयो ।

कायममुकायम प्रधानन्यायाधीशले अस्ति फ्याट्ट गर्नुभएको केही सरुवा र बढुवाप्रति पनि केहीले अचम्म मानेका छन् । धेरैले लालबहादुर कुँवरलाई किन उच्च अदालतमा पुर्याइयो बुझ्न नसकिएको बताए पनि उच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चमा तानिएकोलाई सबैले राम्रो मानेका छन् ।

हरिप्रसाद पोखरेल श्रीमान पनि अहिलेका श्रेष्ठजस्तै बेदाग हुनुहुन्थ्यो भन्दै स्रोतले थप्यो,‘झापा सुरुङ्गाका उहाँ जनकपुर उच्च अदालतको न्यायाधीशबाटै अवकाश हुनुभयो ।’

त्यस्तै केशरी पण्डित र उच्च अदालत पोखराबाट अवकाश हुनुभएका यज्ञ बस्याल पनि उस्तै होनहार भएको धेरैले स्वीकारेका छन् । उहाँहरु सबै न्याय क्षेत्रका अत्यन्तै राम्रा न्यायाधीश भए पनि तानातान र फालाफालको लडाईंमा सर्वोच्चको न्यायाधीश हुनबाट वञ्चित हुनुभएको थियो ।

त्यति राम्रा न्यायाधीशहरु एकाध वर्ष सर्वोच्चमा हुनुभएको भए राम्रो हुने थियो भन्दै केही श्रीमानले समेत ‘न्यायालयले अझै मीस गरेको उल्लेख गर्नुभयो ।’

टिप्पणीहरू