दलितको चुनावलाई समेत गिजोल्न छाडेनन् दलहरुले
पार्टीभित्रको गुटगत लडाईले नेपाली काँग्रेसका भातृ संस्थाहरु थला परेका छन् । आन्तरिक विवादकै कारण नेविसंघ,तरुण दललगायतले वर्षौँसम्म नेतृत्व चयन गर्न नसकिरहेका बेला अधिवेशनमा होमिएको नेपाल दलित संघमा नेताहरुको स्वार्थ बाझिएपछि अन्तिम समय अधिवेशन नै रोकिएको छ ।
संघको कर्णाली प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भई उम्मेदवारी मनोनयनसमेत भैसकेपछि संस्थापन पक्षले एकाएक अधिवेशन स्थगनको सूचना टाँसेको इतर खेमाको आरोप छ । निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने देखिएपछि नियोजित ढंगले अधिवेशन स्थगित गरिएको आरोप अधिवेशन प्रतिनिधिहरुले आरोप लगाएका छन् ।
यसले कर्णालीमा कांग्रेसको संस्थापन र इतर समूहको विवाद छरपष्ट भएको छ । कर्णालीको ६ जिल्लाका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै उम्मेदवारी दर्ता भई चुनावी प्रतिस्पर्धामा अघि बढेको अवस्थामा निर्वाचन परिणाम स्थगित गरिएकोप्रति आपत्ति जनाएका छन् ।
उनीहरुले निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने पूर्वअनुमानका आधारमा पार्टीको संस्थापन पक्षले अधिवेशनमा सहभागी हुन कर्णाली प्रदेशका १० वटै जिल्लाबाट आएका प्रतिनिधिको भावनाविपरित, निर्वाचन अधिकृतलाई समेत जानकारी नगराई बन्द कोठाबाट अधिवेशन स्थगनको सूचना जारी गरेर अलोकतान्त्रिक काम गरेको बताएका छन् । विज्ञप्तीमा केन्द्रीय प्रतिनिधि दिपक सोनीले आमप्रतिनिधि एवम दलित समुदायको भावनामा ठेस पुर्याएको भन्दै यथाशीघ्र निर्वाचन प्रक्रिया अघि बढाई नयाँ नेतृत्व चयनको वातावरण बनाउन मागसमेत गरिएको छ ।
“यहि स्थितिमा चुनावी प्रतिस्पर्धामा जाँदा दलित बहुल कर्णालीमा आगामी निर्वाचनमा पार्टीलाई क्षति हुने देखिएकाले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।”
कांग्रेसको भातृ संगठन नेपाल दलित संघलाई लोकतान्त्रिक प्रकृयाबाट आफ्नो नेतृत्व चयन गर्ने अवसरबाट बञ्चित गर्न अर्का केन्द्रीय प्रतिनिधि तथा पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपालीले संघभित्र खेलेको उनीहरुको आरोप छ । सुदृढ हुँदै गएको संघमा एकताको वातावरण बिगारेर नेपालीले गुटको राजनीति गरेको उनीहरुले गुनासो गरेका छन् । अधिवेशन स्थगित हुँदा प्रदेश तहको संगठनमा रिक्तता हुन गई संगठन विस्तारमा बाधा पुगेको पनि विज्ञप्तिमा बताइएको छ ।
दलित संघ सुर्खेतका अध्यक्ष भीमबहार परियार,सल्यानका अध्यक्ष चक्र परियार,कालिकोटका अध्यक्ष नीलो तिरुवा, रुकुमपश्चमिका अध्यक्ष परविर ददेल,मुगुका अध्यक्ष बाँकी लाल परियार,दैलेखका सचिव प्रेम सुनुवार,केन्द्रीय प्रतिनिधि सूर्यबहादुर बिक र अध्यक्षका प्रत्यासी सन्जुसिंह विश्वकर्मा लगायतले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
यता,संघको कर्णाली प्रदेश अधिवेशन आयोजक समिति संयोजकसमेत रहेका सोनीले भने संघको अधिवेशनका कारण पार्टीले शुरु गरेको स्थानीय तहको निर्वाचन कार्यक्रम प्रभावित हुने भएकाले स्थगित गर्नुपरेको दाबी गरेका छन् । आजदेखि शुरु भएको पार्टीको राष्ट्रिय अभियान ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ कार्यक्रममा भातृ संस्थाका प्रमुख एवम प्रतिनिधिहरु पनि सहभागी हुनु पर्दा अधिवेशन प्रभावित भएको उनको जिकिर छ ।
सहमति जुटाउन केन्द्रीय प्रतिनिधि पार्टीका नेताहरुसँग समन्वय गर्न गएको अवस्थामा आफूखुशी निर्वाचन प्रक्रिया अघि बढाएको आरोप लगाउँदै सोनीले जसका कारण स्वस्थ र भावनात्मक प्रतिष्पर्धा नहुने देखिएकाले अधिवेशन स्थगित गरेको बताएका छन् । यहि स्थितिमा चुनावी प्रतिस्पर्धामा जाँदा दलित बहुल कर्णालीमा आगामी निर्वाचनमा पार्टीलाई क्षति हुने देखिएकाले यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।


टिप्पणीहरू