युक्रेनका द्वन्द्व पीडित जेलबाट निस्किए

युक्रेनका द्वन्द्व पीडित जेलबाट निस्किए

युक्रेनका द्वन्द्वपीडित नेपालीहरु नेपाली दूतावासको पहलमा जर्मनीको जेलबाट निस्केका छन् । रुस र युक्रेनबीच भएको युध्दमा युक्रेनबाट भागेका उनीहरुलाई जर्मनीको अध्यागमन विभागले सिमानामा नियन्त्रणमा लिएको थियो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उध्दार उच्चस्तरीय समितिको बैठकमा हिजो साँझ बोल्दै यसबारे जानकारी दिनुभएको हो ।

राजदूत खड्काले रुस–युक्रेन द्वन्द्वपीडित नेपालीहरु दूतावासको सम्पर्कमा आउन छाडेको पनि बताउनुभयो । उहाँले युरोपका विभिन्न देशमा रहेका नेपालीलाई भित्र्याउन रुस, बेलारुस र युक्रेन हुँदै युरोपका अन्य देशमा ल्याउन दलालहरु सक्रिय भएको आकलन गर्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

राजदूत खड्काका अनुसार युध्दमा विस्थापित नेपालीमध्ये चार जनालाई भारत सरकारको सहयोगमा उध्दार गरी नेपाल पठाइएको छ । भारत सरकारले दुई जना हंगेरीबाट,एक जना रोमानिया र अर्का एक जनालाई पोल्याण्डबाट नेपाल पुर्याइदिएको हो । नेपाल फर्किएका १० जनामध्ये बाँकी छ जना आफैं सहयोग जुटाएर फर्किएका हुन् ।

यसैबीच युध्दमा अलपत्र परेका नेपालीहरुलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीले यात्रा अनुमतिपत्र लिएका छन् ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा.बोध सुवेदीले युक्रेनको लुगानबाट आएका छ जना विद्यार्थीको उध्दार गरेर सुरक्षित स्थानमा पुर्याइएको जानकारी दिनुभयो । एनआरएनए पोल्याण्डका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरुलाई खाना र बस्नको व्यवस्था गरेको उल्लेख गर्नुभएको थियो ।

एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युध्दप्रभावित देशबाट १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिनुभयो । युध्द भएपछि युक्रेनमा रहेका नेपालीहरु पोल्याण्ड,स्लोभाकिया, फ्रान्स,हंगेरी,स्पेन,जर्मनी,रोमानिया र मोल्दोवालगायतका देश पुगेका छन् ।
पछिल्लो तथ्यांकअनुसार हालसम्म पोल्याण्डमा चार सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना,हँगेरीमा ८ जना र ४ मोल्दोवा पुगेका हुन् ।

टिप्पणीहरू