कर्मचारीको नेता छान्ने जिम्मा कसलाई ?

कर्मचारीको नेता छान्ने जिम्मा कसलाई ?

हिजोदेखि राजधानीको बबरमहलमा शुरु भएको एमाले निकट निजामती कर्मचारी संगठनको महाधिवेशनले आज नेतृत्व चयन गर्ने कार्यसूची छ । तर,आज दिउँसोसम्म नेतृत्वबारे कसैले पनि चुईंक्क नबोलेकाले सहभागीहरु अन्यौलमा परेका छन् ।

बालकोटले नेतृत्वको सूची तयार गर्ने जिम्मा दुई जनालाई सुम्पेको बताइएको छ । पेशागत महासंघको इञ्चार्ज रहेका पूर्वमन्त्री भानुभक्त ढकाल र बाबुराम थापालाई चुनाव नगर्ने र बालकोटको रुचिअनुरुप नेतृत्व छानेर सूची पेश गर्न भनिएको सहभागीहरुले आज दिउँसोको खाना खाने क्रममा संकेत पाएका छन् । थापा एमाले निकट पेशागत महासंघको संयोजक हुन् ।

“एमाले महाधिवेशनमा करोडौं, चौतारी र कर्मचारीको महाधिवेशनमा लाखौं खर्च गर्ने तर राति भित्तोमा आफू अनुकूलको नाम टाँस्ने प्रचलनले प्रजातान्त्रिक अभ्यासलाई भुत्ते बनाएको टिप्पणी हुन थालेको छ ।”

गत मंसिरमा चितवनमा सम्पन्न एमाले महाधिवेशन र हिजो राति पोखरामा सकिएको प्रेस चौतारीको महाधिवेशन स्टाइलमा निजामती कर्मचारीहरुको महाधिवेशन गर्न विशेष निर्देशन दिइएको बताइन्छ । एमाले महाधिवेशनमा करोडौं, चौतारी र कर्मचारीको महाधिवेशनमा लाखौं खर्च गर्ने तर राति भित्तोमा आफू अनुकूलको नाम टाँस्ने प्रचलनले प्रजातान्त्रिक अभ्यासलाई भुत्ते बनाएको टिप्पणी हुन थालेको छ ।

हिजोको उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल,राष्ट्रिय सभाकी पूर्व सांसद तथा गायिका कोमल वलीलगायतले भाषण गरेको बताइन्छ ।

अध्यक्ष ओली आफू वीरगञ्जका मेयरलाई पार्टीमा प्रवेश गराउन जानुपर्ने भन्दै भाषण छोट्याएर हेलिकप्टर चढ्न विमानस्थलतर्फ जानुभएको थियो । विमानस्थलमा उहाँ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको झण्डै जम्काभेट भएको थियो ।

ओली सिम्रिक एअरको हेलिकप्टर चढेर वीरगञ्जतर्फ र नेपाल एभरेस्ट एअरको हेलिकप्टरमा धादिङको बैरेनी जानुभएको थियो ।

टिप्पणीहरू