फूल चढाएपछि झन् फसाद

फूल चढाएपछि झन् फसाद

के तपाईं–हामी पत्याउन सक्छौं– फूलको झटारोले मान्छेहरू ठहरै भएको खबर ? तर, मुलुकको ढुकुटीकै जिम्मा लिएर बसेका व्यक्तिबाटै त्यस्तो हतियारको प्रयोग हुँदा हाकिमहरु निहुरिमुन्टी न भएका छन् ।

अघिल्लो दिन राजीनामा दिएर भोलिपल्टै फेरि शपथ लिएका अर्थमन्त्री डा.युवराज खतिवडाको प्रसंग हो यो । शीतल निवासबाट फागुन २१, अर्थात् झापाकै सुखानी सहिद स्मृति दिवसका दिन शपथ लिएर पुनर्वहाली हुन पुग्दा उनलाई जुन फूलको बुकीले स्वागत गरियो, पछि त्यही बुकी ‘झटारो’ मा परिणत भइदियो ।

मन्त्रालयका सचिव, सहसचिव, विभाग र संस्थानका प्रमुखसहित निकटस्थ कर्मचारीले फूल र खादा चढाए । यो लहरमा अर्थमन्त्रीलाई मन नपरेका व्यक्तिहरुले भने सात–आठ सयदेखि हजार, पन्ध्र सयसम्म पर्ने फूलका डाली टक्य्राउँदै टेबुलमा राख्न थाले । त्यसमध्येमा सरकारी वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ, कर्जा सुरक्षणका प्रमुख विष्णु मिश्रहरू पनि थिए । यी दुबै अर्थमन्त्रीलाई मन नपरेका पात्र हुन् । यिनीहरूलाई त्यहाँबाट हटाउन खोजिएको थियो । तर, अनेक जोडबल गरेर टिकिरहे । स्वागत सकेर सञ्चार मन्त्रालयतिर लाग्नुअघि चिया पिउँदा अर्थमन्त्रीले अनौपचारिक रूपमा टिप्पणी गर्दै भने, ‘मैले हिजो भर्खर कसैले भनेको सुनेको, यस्तो फूल दिँदा न तलबले धान्छ, न खल्तीकै पैसाले पुग्छ । तलबले यी फूलहरू किनेजस्तो त मलाई लाग्दैन, अफिसको खर्चले किनेको पनि होइन होला । अचेल कर्मचारीहरूले भारतबाट आयात गरिएका महंगा फूल स्वागत, बिदाई र जिल्ला भ्रमणमा जाँदा मन्त्रीहरूलाई यसरी नै चढाउँछन् रे ।’

अर्थात्, भ्रष्टाचारको पैसाले किनेर ल्याएको र आफूलाई पनि भिडाएको भन्ने उनको आशयको ‘झटारो’ चाहिँ उनै दुईका लागि थियो । कुरा बुझेपछि कोही घोप्टो परेर मुसुमुसु हाँस्दै थिए भने कोहीचाहिँ हाँसो थाम्न नसकेर पिसाबको निहुँमा बाहिर निस्कँदै थिए । मन्त्री यी दुई पात्रसँग रिसाउनुपर्ने कारण पनि रहेछ । चापागाईं राष्ट्रबैंकमा हुँदा सँगै काम गरेका । र, कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा वीमा समितिमा नियुक्त भएका, काठमाडौंका पार्टी सचिव तथा नेकपा केन्द्रीय सदस्य हिमाल शर्माका दोस्ती । महराको कार्यकालमै १० वीमा कम्पनीलाई राम्रै दक्षिणामा लाइसेन्स दिएका यिनलाई हटाउन युवराजले ऐन बनाएर लगे, पारित भएको दिन स्वतः पदमुक्त हुने गरी । तर, डेढ वर्षदेखि त्यो संसदमा अड्किएको छ । विष्णुका पनि अनेकन हर्कत छन् । प्यारी कर्मचारी बोकेर, रुट नमिले पनि बैंककतिर हान्निने बानी परेका । अफिसको खर्चमा निजी शयर गरेका यिनीसँग अर्थमन्त्री उसै त आगो छन्, त्यसमाथि फूल देखेपछि थप काण्ड पुग्ने नै भयो ।

टिप्पणीहरू