म्यादीमा जान युवाको मरिहत्ते

म्यादीमा जान युवाको मरिहत्ते

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको निम्ति म्यादी प्रहरीमा भर्ना खुलेपछि देशैभर आवेदन दिन युवायुवतीको लर्को लागेको छ । डेढ महिने जागिरका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयमा युवा युवतीको भीड लागेको हो ।

प्रहरीले म्यादीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा पनि फाराम भर्नेहरुको भीड उस्तै छ । फाराम भर्न सबै स्थानीय तहबाट आएका युवाहरु टन्टलापुर घाममा लाइन लागेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का नरेन्द्र सुनारले बेरोजगार भएर बसेकाले थोरै समय भए पनि जागिर खान आएको बताए । ४० दिन भए पनि घर खर्च चलाउनको लागि खर्च जुट्ने भएकाले म्यादी प्रहरीमा भर्ना हुन आएको उनको भनाइ छ ।

म्यादी प्रहरीका लागि गत आइताबारदेखि फाराम खोलिएको हो । सोही दिन बाँकेमा एक हजार जनाले फाराम भरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार फाराम भर्नेको धेरै ठूलो भीड रहेकाले सबैको दर्ता गर्न सकिएको छैन । १५ गतेबाट शारीरिक परीक्षण शुरु गर्ने प्रहरीको तयारी छ । चैत २२ गते फिजिकल परीक्षा पास गर्नेहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

म्यादी प्रहरी जवानले ४० दिनको ४४ हजार चार सय ४४ रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि तोकिएको छ ।

टिप्पणीहरू