कर्णालीमा पर्यटक कति पुगे ?

कर्णालीमा पर्यटक कति पुगे ?

कर्णाली प्रदेशमा पछिल्लो एक वर्ष डेढ लाखभन्दा धेरै पर्यटकले भ्रमण गरेका छन् । प्रदेशको १० जिल्लाका विभिन्न क्षेत्रमा एक लाख ६० हजार पर्यटकले अवलोकन गरेको सरकारी तथाङ्क सार्वजनिक भएको हो ।

प्रदेश तहको पर्यटन विकास तथा प्रवर्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो । वार्षिक पाँच लाख पर्यटक भित्र्याउने कर्णाली सरकारको लक्ष्य भने पूरा हुन सकेको छैन ।

कोरोना महामारीमा समेत एक लाख ६० हजार पर्यटकले प्रदेश भ्रमण गरेको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव मोहन जिसीले कोरोना महामारीका कारण कर्णालीमा सोचेअनुरुपको संख्यामा पर्यटक भित्रिन नसकेको बताउनुभयो ।

उहाँले सरकारले अहिले पनि जनतासँग पर्यटक र नामसँग पर्यटक नारा लिएर काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले प्रदेशमा पर्यटकका लागि आकर्षक गन्तव्यहरु भए पनि त्यसको प्रचारप्रसार तथा प्रवर्धन हुन नसकेको बताए ।

उनीहरुले कोरोनाका कारण धराशायी भएको पर्यटन क्षेत्रलाई लयमा ल्याउन विशेष योजनानिम्ति सुझाव दिएका छन् । कर्णालीका पर्यटन क्षेत्रहरु अहिले धराशायी अवस्थामा रहेको भन्दै त्यसतर्फ ध्यान दिन उनीहरुले सल्लाह दिएका हुन् ।

उनीहरुले पर्यटकको आगमन बढाउन हवाई भाडादर घटाउनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन् । नेपालमा वार्षिक १२ लाख पर्यटक आउने गरेकोमा अहिले उक्त संख्या घटेर करिब दुई लाखमा झरेको छ ।

कार्यक्रममा प्रदेशका पर्यटन मन्त्री, संस्कृति,पर्यटन तथा नागरिक मन्त्रालयका सचिव र सुर्खेतका प्रमुख जिल्ला अधिकारीले पनि सरकारी धारणा राखेका थिए ।

टिप्पणीहरू