शान्ति सेनामा मारिएका गुरुङप्रति समवेदना दिन होवार्ट जंगीअड्डामा
संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । आज सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा भेटघाट भएको हो ।
भेटमा दुईपक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको नेपाली सेनाले जनाएको छ । होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खटिरहेका नेपाली शान्ति सैनिकले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
जंगी अड्डाका अनुसार भेटमा उनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालन हुने तालिमको अन्तर्राष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।
साथै कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान हिजो विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङप्रति समवेदना व्यक्त गरेका थिए ।
होवार्डले मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिएको बताइएको छ ।
टिप्पणीहरू