अग्रज पत्रकारहरुमध्ये एकको शालिक अनावरण, अर्काको नाममा पुरस्कार

अग्रज पत्रकारहरुमध्ये एकको शालिक अनावरण, अर्काको नाममा पुरस्कार

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सीतारामप्रसाद वर्माको शालिक अनावरण गरिएको छ । कोरोना संक्रमणका कारण निधन भएका पत्रकार वर्माको सम्झनामा नेपाल पत्रकार महासंघ धादिङले स्थापना गरेको शालिकको अस्ति औपचारिक अनावरण गरिएको हो ।

शालिक अनावरण सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले पत्रकारिता क्षेत्रको विकासमा वर्माले खेलेको भूमिका र संघर्षको चर्चा गनुभएको थियो ।

नीलकण्ठ नगरपालिकाको सहयोगमा महासंघ भवन परिसरमा निर्माण गरिएको शालिकको तल्लो भागमा वर्माले निधन हुनुअघि लेखेका अक्षर जस्ताको तस्तै राखिएको छ । अक्षर नबुझिए पनि उनले लेखेका शब्द इतिहासका लागि राखिएको महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । शर्माले अन्तिम समयमा पनि कलम र कापी बोकेरै संसारबाट बिदा भएको शर्माले स्मरण गराए ।

वर्माको शालिक अनावरणमा महासंघ बागमती प्रदेशका अध्यक्ष शिवप्रसाद देवकोटाले उनले गरेका सकारात्मक कार्यको सबैले अनुशरण गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन् ।

केही समयअघि निधन भएका स्वर्गीय पत्रकार राजेन्द्रप्रताप शाहको नाममा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । वर्माको शालिक अनावरणसँगै अग्रज पत्रकार शाहको श्रद्धाञ्जली सभामा महासंघ धादिङका अध्यक्ष शर्माले शाहको नाममा स्मारिका प्रकाशन गर्ने र ज्वालामुखी गाउँपालिकासँगको सहयोगमा पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव गरिएको जानकारी दिए । शाह महासंघ धादिङका संस्थापक सचिव हुन् । वर्मापछिका अध्यक्ष पनि शाह नै हुन् ।कार्यक्रममा महासंघका केन्द्रीय सदस्य ध्रुव रावल, प्रेस युनियनका केन्द्रीय सदस्य मुरारी अधिकारीलगायतले पत्रकारितामा गर्नुभएको योगदानलाई जोगाएर राख्नुपर्ने, ईमान्दारिताको पत्रकारिता सिक्नुपर्ने, समाज परिवर्तनका निम्ति उनीहरूले देखाएको बाटोलाई भुल्न नहुने धारणा राखेका थिए ।

टिप्पणीहरू