निर्वाचनमा प्रहरीको साइबर ब्युरो पनि सक्रिय हुने
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोले चुनावी माहौल बिगार्ने तवरले सामाजिक सञ्जालमा भ्रामक सामग्री पोष्ट नगर्न आग्रह गरेको छ । आसन्न स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै ब्युरोले सामाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गरेको हो ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरिसकेको स्मरण गराउँदै चुनावलाई असर पार्ने खालका दुष्प्रचारदेखि चरित्रहत्या हुने अडियो भिडियो पोष्ट नगर्न भनिएको छ ।
त्यसैगरी, लिखित अभिव्यक्तिलाई दुराशय मनशायबाट गलत अर्थ लाग्ने गरी सम्पादन गरी सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारका माध्यममार्फत् सम्प्रेषण नगर्न पनि ब्युरोले सबैमा अपिल गरेको छ ।ऐनकानुनले प्रकाशन–प्रशारण तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सार्वजनिक, नैतिकता, शिष्टाचारविरुद्ध हुने खालका सामग्री पोष्ट र सेयर नगर्न ब्युरोले सुझाएको हो ।
टिप्पणीहरू