गाडी थन्क्याएर साहुजीहरु सडकमा
सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको भन्दै ट्रक व्यवसायीहरूले आन्दोलनको सुरसार कसेका छन् । समयअनुकूल भाडादार कार्यान्वयन नभए २० जेठदेखि लुम्बिनी क्षेत्रका ट्रक व्यवसायीले व्यवसाय ठप्प पार्ने चेतावनी दिएका हुन् ।
लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले तेलको मूल्य पटक-पटक बढ्दा पनि भाडा समायोजन नहुँदा व्यवसाय नै धरापमा परेको बताए । ’हामीले सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको छ,अति नै भएपछि बिस्फोट हुन्छ, सोहीअनुरुप यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनका लागि आवाज उठाएका हुन्’, उनले भने ।
सरकारले नै तोकेको भाडादर नपाउँदा पेशा नै संकटमा परेको भन्दै २० जेठबाट ट्रक घर र ग्यारेजमा थन्काएर ढुवानी रोक्ने निर्णय गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा समायोजित भाडादर कार्यान्वयनका लागि ट्रक व्यवसायीहरूले आन्दोलन तय गरेका हुन् ।
आन्दोलनसँगै व्यवसायी संस्थाहरूले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरुको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीहरुसँग पनि सहकार्य गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए ।
टिप्पणीहरू