दुबै बर्ष विद्यार्थीले यौटै प्रश्नको परीक्षा दिनुपर्ने ?
माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले हुबहु प्रश्नपत्र दोहोरिएको भन्दै डिनको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
हिजोदेखि सञ्चालित स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षामा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र अघिल्लो वर्षसँग दुरुस्त मेल खाएकाले उनीहरुले मानविकी संकायका डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् । त्रिविअन्तर्गत अर्थाशास्त्र केन्द्रिय विभागको हाल परीक्षा सञ्चालन भइरहेको छ । यसैक्रममा सन् २०२० र २०२१ को प्रश्नपत्र एउटै पाइएको हो ।
डिन,सहायक डिन र संलग्न अन्य कर्मचारीले नियतवशः र नियोजित ढंगले यस्तो अवाञ्छित कार्य गरेको आरोप लगाइएको छ । विध्यार्थीको जीवनसँग खेलबाड हुनेगरी प्रश्नपत्रको हुबहु सेट समावेश गर्ने सबै कर्मचारीहरुको राजीनामा माग गरिएको छ ।
परीक्षाजस्तो संवेदनशील विषयमा लापरवाही गरिएको समितिका उपाध्यक्ष विपिन बिकले बताएका छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने डिन कुसुम शाक्य,सहायक डिन र प्रशासन कर्मचारीले राजीनामा नदिएसम्म कार्यालयको ताला नखुल्ने उनीहरूको दावी छ ।
टिप्पणीहरू