रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा मोहनविक्रम रिसले आगो

रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा मोहनविक्रम रिसले आगो

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग कसूरमा मुद्दा नचलाउने प्रहरी र महान्यायाधिवक्ता कार्यालयको निर्णयप्रति नेकपा (मसाल) ले कडा आपत्ति जनाएको छ । 

महामन्त्री मोहनविक्रम सिंहले आज विज्ञप्ति जारी गर्दै राजनीतिक लेनदेन र सौदाबाजीका आधारमा लामिछानेलाई सफाई दिइएको आरोप लगाएका छन् । विज्ञप्तिमा उक्त निर्णयको निन्दा र भत्र्सना गरिएको छ । 

मसालले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको स्वार्थपूर्तिका लागि गठन भएको गम्भीर आरोपसमेत लगाएको छ । लामिछानेलाई सफाइ दिने निर्णय कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीमा गरिएको दाबी गर्दै विज्ञप्तिमा अमेरिकापरस्त गम्भीर राजनीतिक सवाल भएकाले उनको गतिविधिबाट नेपालको राष्ट्रियता र सार्वभौमिकतामा आँच आउने चिन्ता व्यक्त गरिएको छ । 

‘यो कुरा स्पष्ट छ कि त्यस प्रकारको रवि लामिछानेलाई सफाइ दिने निर्णय कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीको आधारमा नै गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डको मातहतमा नै छ । उनले कथित स्वतन्त्र पार्टीको विश्वासको मत प्राप्त गर्न नै कानुन र न्याय समेतलाई मिचेर प्रहरी प्रशासन तथा महान्यायाधिवक्ता समेतमाथि दबाब दिएर यस प्रकारको निर्णय गर्न लगाएको कुरा बुझ्न गाह्रो पर्दैन ।’

टिप्पणीहरू