गिरिजालाई सम्झँदै गगनले भने ‘शान्ति प्रक्रिया टुङ्ग्याउन बिलम्ब भइसक्यो’

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी काम तत्काल टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन् । दलीय संकीर्णताबाट माथि उठेर शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा सबै राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । 

तत्कालीन सात राजनीतिक दलका तर्फबाट बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेका काँग्रेसका दिवंगत सभापति गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले शान्ति प्रक्रियालाई कुनै पनि बहानामा थप लम्ब्याउन नहुनेमा जोड दिएका छन् ।

‘दलीय संकीर्णता र तत्कालको नाफा घाटाबाट नहेरी यो विषयलाई सम्बोधन गर्नुपर्छ, अब हामीसँग समयको सुविधा छैन’ उनले भने । शान्ति प्रक्रियाका बाँकी काम अझ लम्ब्याउँदै जाँदा भविष्यमा अप्ठेरो पर्ने बताउँदै थापाले त्यसले अन्याय हुने पनि उल्लेख गरे ।  

जनयुद्धकालीन घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा फौजदारी मुद्दा परेपछि शाक्ति प्रक्रियाको समग्र विषय नै अप्ठेरोमा परेको भनिएका बेलामा थापाको उक्त धारणा आएको हो । उनले संक्रमणकालीन न्यायको विषय सम्बोधन गर्दा पीडितको भावना बुझ्नुपर्ने, अन्तर्राष्ट्रिय कानुन र मान्यतालाई पनि ख्याल गर्नुपर्ने बताएका छन् ।  

संक्रमणकालीन न्यायको विषयलाई ‘फास्टट्रयाक’ बाट टुङ्गोमा पुर्याउने तयारीका साथ सरकारले हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐन संशोधनका लागि प्रतिनिधिसभामा पेश गरेको छ । तर, प्रतिपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सजिलै विधेयक पारित गर्न दिने पक्षमा देखिएका छैनन् ।

यो पनि...

1. सुर्खेत उडेको बुद्ध एअरको विमान नेपालगञ्जमा अवतरण

2. ‘र’ प्रमुखलाई भेटे वकिल दिनेशले,नाम आयो पत्रकार देवप्रकाशको

3. यस्तो देखियो आजको घोडेजात्रा (फोटो फिचर)

4. अपरेसन जर्नेलको घरमा नयाँ सेनापतिको चर्चा,सन्तोषको म्याद थपिँदै

टिप्पणीहरू