प्रधानमन्त्री संसदमा जवाफ दिन तयार

प्रधानमन्त्री संसदमा जवाफ दिन तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरुले उठाएका विषयको प्रतिनिधिसभामा जवाफ दिनुहुने भएको छ । 

सदनको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेसँग बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने जानकारी गराउनुभएको हो । आइतबारको प्रतिनिधिसभा बैठक अवरोध भएलगत्तै पनि सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरी बजेट पारित गर्न समयको चाप रहेकाले विपक्षी दलसँग संवाद गर्नसमेत आग्रह गर्नुभएको बताइएको छ । 

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चारदिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भन्नुभएको थियो, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन ।’

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आजको संसदमा आफूले प्रष्टिकरण दिने बताउनुभएको हो । ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भन्नुभएको थियो ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षी दलहरुलाई पनि बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गर्नुभएको छ ।

भारत भ्रमण जानुअघि नागरिकता विधेयक प्रमाणित गरेको तथा सीमा विवाद मिलाउन बंगलादेश जाने सहज बाटो दिए भारतसँग कालापानी साटन मञ्जुर रहेको प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेलगायत प्रतिपक्ष दलले हिजो संसद अवरुद्ध गरेका थिए । उनीहरुले यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

 

टिप्पणीहरू