सफल व्यापारी पूर्वराजालाई असफल व्यापारी प्रसाईंले गद्दीमा बसाउन सक्लान् ?

सफल व्यापारी पूर्वराजालाई असफल व्यापारी प्रसाईंले गद्दीमा बसाउन सक्लान् ?
सुन्नुहोस्

एमाले नेता महेश बस्नेतको लहडका कारण दुर्गा प्रसाईंले चर्चा पाएर मंसिर ७ गतेको रमाइलो मञ्चन गर्ने अवसर पाएको चर्चा छ । राजनीतिक विश्लेषकले उनको यस्तो क्रियाकलापले राजनीतिक उपलब्धि भने हासिल नहुने दाबी गरेका छन् ।

युवा संघ लगाएर दुर्गा प्रसाईंको अनुहारमा कालो मसी पोत्नु, व्यक्ति प्रसाईंको काउन्टरमा एमालेजस्तो ठूलो दलले कार्यक्रम गर्नु आफैँमा लज्जास्पद हुनुका साथै प्रसाईंलाई हिरो बनाउने काम भएको विश्लेषकको ठहर छ । बैंकको ऋण नतिर्न उकासेका बेला सरकारले प्रसाईंलाई पक्राउ गरी ठेगान लगाउन सक्थ्यो । तर, त्यसबेला अराजक र अराजनीतिक व्यक्तिका रुपमा देखिएका उनलाई समात्न राज्य थर्थर कामेको पाइयो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रसाईंलाई समात्न डराएका थिए । तर, आन्दोलन गर्ने भएपछि पक्राउ गर्ने मनस्थितिमा देखिएका उनलाई अन्तिममा आएर पक्राउ गर्नु बुद्धिमानी काम हुँदैन भनेर अरुले भनेपछि झनै प्रसाईं पक्राउ पर्नबाट जोगिएको दाबी स्रोतले गरेको छ ।

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई च्वास्स घोच्न पुगेका मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई तह लगाएर साखुल्ले पल्टिने क्रममा महेश बस्नेतले जुन हर्कत देखाए त्यसले एमाले, बस्नेत र युवा संघलाई नराम्रोसँग झड्का दिएको छ । राजनीतिक दल एमालेविरुद्ध एक व्यक्ति अर्थात् दुर्गा प्रसाईंको व्यक्तिगत लडाइँ जस्तै देखिएपछि यस्तो झड्का लागेको हो । त्यो पनि आफैँले बनाएको, आफ्नै दलको भूतपूर्व केन्द्रीय सदस्यसँग ।

यो प्रकरणमा अध्यक्ष ओलीका बफादार युवाहरू जति उफ्रिए त्यति नै प्रसाईंले मुफ्तमा प्रचार पाएको दाबी गरिएको छ । यो प्रकरणबाट एमाले अध्यक्ष ओली अरुको आलोचना सहन नसक्ने र अत्यन्तै असहिष्णु व्यवहार गर्ने पात्रका रुपमा चिनिएका छन् भने दुर्गा प्रसाईंले अनावश्यक भाउ पाएको देखिन्छ । यो प्रकरणले एमालेभित्र अध्यक्ष ओलीको गलत कदमलाई रोक्न सक्ने, आलोचना गर्ने वा सुझाव दिने हैसियतमा दोस्रो, तेस्रो वरियताका नेताहरूको पनि ल्याकत नभएको देखिएको छ । एक जना वामपन्थी विचारकका अनुसार स्टालिन मरेपछिको पार्टी अधिवेशनमा खु्रश्चेभले कोही छ यहाँ भन्दै चिच्याएका थिए, त्यसबेला कोही पनि बोल्न सकेनन् । त्यसपछि खु्रश्चेभलाई स्टालिनको पालामा चैं किन तिमी नबोलेको भन्ने प्रश्न गरिँदा उनले ‘म पनि त्यो बेला यस्तै थिएँ’ भन्ने जवाफ फर्काएका थिए । अध्यक्ष ओली र उनीपछिको वरियता भएका एमाले नेताहरूको हालत पनि अहिले प्रसाईं प्रकरणले त्यस्तै देखाएको छ ।

अध्यक्ष ओली आफैंले उठाएको प्रसाईंविरुद्ध शक्ति प्रयोग गर्नुपर्ने अवस्था आफैंले निम्त्याए । प्रसाईंको तुलनामा एमालेजस्तो ठूलो दलका अनुशासित कार्यकर्ता मंसिर ७ मा मैदानमा उत्रिएको देखिएन । जबकि एमालेले प्रसाईंविरुद्ध युवालाई भेला हुन उर्दी नै जारी गरेको थियो । युवा संघमा देशभर ८ लाखभन्दा बढी सदस्य रहेको दाबी गरिएको थियो । कम्युनिष्ट पार्टीका अनुशासित कार्यकर्ता त एक चुट्कीमा भेला हुनुपर्ने हो ।

राजनीतिक पृष्ठभूमि प्रष्ट नभएको, अराजक, असंगठित प्रसाईंले बोलाएको भेलाको तुलनामा युवा संघको उपस्थित लाजमर्दो नै भए पनि त्यो कुरा अहिलेसम्म अध्यक्ष ओली र बस्नेतले स्विकारेका छैनन् । प्रसाईंको भीडमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता पनि मिसिएर हुजुम बढाएका थिए । र, एमालेको ह्रासोन्मुख अवस्थाको स्वाद मानीमानी चुस्की लिएका थिए । र, यो प्रकरणपछि प्रसाईं पनि विस्तारै सेलाउँदै गएका छन् । उनी खहरे ठहरिन पुगेका छन् । पछिल्लो पटकको कार्यक्रममा हजार १५ सय जतिको मात्रै उपस्थिति देखिएपछि उनी खहरेभन्दा बढी केही नभएको पुष्टि भएको दाबी पनि गरिएको छ ।

उनी पनि सुक्दै सेलाउँदै गएको देखिन्छ । साढे पाँच अर्ब ऋण लिने, ६ करोडको गाडी नातिलाई किन्ने, अरुलाई बैंकको ऋण नतिर भन्ने, लघुवित्त र साना ऋणीको २० लाखसम्म ऋण मिनाहा गर्ने निहुँमा आफ्नो ऋण मिनाहा गराउन अप्रत्यक्ष वातावरण सिर्जना गर्ने

रणनीति असफल हुन पुगेको छ । स्रोतका अनुसार भारतको आरएसएसले प्रसाईंको यो आन्दोलनका लागि थोरैतिनो रकम र सीमावर्ती क्षेत्रका केही मान्छे पठाएर सहयोग पुर्‍याएको थियो ।

राष्ट्र, राष्ट्रियता र हिन्दूत्व भन्ने विषय बोकेको भन्दै प्रसाईंलाई आरएसएसले साथ दिए पनि पछिल्लो अवस्थामा प्रसाईं थान्को लाग्न थालेको बताइन्छ । बैंक ऋण नतिर्ने वा फिर्ता गर्ने कुरासँग हिन्दूत्वको साइनो नगाँसिएपछि आरएसएसवालाहरू आपूmलाई प्रसाईंले मुर्गा बनाउन खोजेको निश्कर्षसहित पछाडि सरेका हुन् । र, प्रसाईंको राजा फर्काउने आन्दोलनबारे एक जना विश्लेषक भन्छन्– राजा सफल व्यापारी हुन् । प्रसाईं असफल व्यापारी हुन । एउटा असफल व्यापारीले सफल व्यापारीलाई कसरी गद्दी फर्काइदेलान् ? यो कुरा कसरी पत्याउने ?

मंसिर ७ को खहरे ?

मंसिर ७ गतेको कार्यक्रमबारे दुर्गा प्रसाईंको फाइँफुइँ हेर्दा सबैलाई बढारेर लैजान्छ कि भन्ने डर थियो तर कार्यक्रमको हालत देखेपछि विभिन्न दलका नेता तथा मन्त्रीहरूले राहतको सास लिएका छन् । प्रसाईंले आँधीहुरी सिर्जना गर्छ भन्ठान्नेहरू पनि खिस्स भएका छन् । यो प्रदर्शन र बोलाईका कारण राजावादीहरूले निरन्तर रुपमा सहयोग र सहकार्य गर्न नसक्ने अवस्था सिर्जना भएको छ । राजावादीहरू दुर्गा प्रसाईंसँग अलग्गिन थालेका छन् । राजा ज्ञानेन्द्रले मेरो थालमा भात राखिदिन्छन् ? म राजावादी होइन, राष्ट्रवादी हुँ भन्ने लगायतका राजतन्त्रबारे अनेकन हावा खुस्केका कुरा सुनेपछि अलग्गिन थालेका हुन् ।

टिप्पणीहरू