पार लाग्दैन पनि भन्ने, जिताएर यिनैलाई पठाउने

पार लाग्दैन पनि भन्ने, जिताएर यिनैलाई पठाउने

पुराना काम नलाग्ने भए । तिनबाट पार लाग्दैन अब । कुनै भिजन छैन । पुराना भनेका पुरानो टेप रेकर्डरजस्तै हुन् उही कुरा दोहो¥याइरहने । भिजन उही पचासकै दशकको, भाषण उही पचासकै दशकको जस्तो र चरित्र पनि उनै ताकाको जस्तो । अझ अघि बढेर भन्दा प्रतिगामी किसिमको पो देखिन्छ त पचासको दशकभन्दा पनि । नयाँले केही गर्थे होलान् तर तिनलाई पुरानाले नेतृत्वमा आउनै दिन्नन् । काम गर्ने अवसर नै दिन मान्दैनन् । नयाँ जतिसुकै तगडा भए पनि तिनको कुनै गिन्ती नै हुन्न । पुरानाले तिनलाई गन्दै गन्दैनन् भन्छन् । अहिले बजारमा, गाउँमा, टोलछिमेकमा, चिया पसलमा, तास खेल्ने ठाउँमा यस्तै–यस्तै कुरा सुनिन्छन् । यिनै कारणले हुनुपर्छ पुरानाप्रति मानिसमा भयंकर असन्तुष्टि छ र अविश्वास छ,  आक्रोश छ । हाम्रा सबै दुःखको जड यिनै पुराना र उमेरले पाका नेताहरू हुन् भन्छन् मान्छेहरू । तर, कुरा फेरि कस्तो छ भने हरेक चुनावमा आफैँले खराब र अक्षम भनेर गाली गरेका तिनैलाई जिताएर पठाउँछन् । हुन त जनता पनि उस्तै छन् । 

केही समय पहिले प्रचण्डले परदेशी धरतीमा पुगेर गेरुवस्त्र धारण गर्दै धुपबत्ती गरेको हामी सबैले देखेकै हो । तिनले यस्तो किन, के पाउनका लागि अथवा केका लागि गरे होलान् ? त्यस्तो गरेर तिनले के हात पारे अझै खुलिसकेको छैन । केही नपाई यस्तो रिस्क कसले सक्छ र ? सायद केही सुइँको पाएरै हुनुपर्छ अहिले ओली समूह पनि केही हात लागिहाल्ला कि भनी गेरुवा वस्त्रमा प्रकट भएको छ । माक्र्सवाद विज्ञानवादी दर्शन हो भन्ने, वस्तुवादी दर्शन हो पनि भन्ने, भौतिकवादी दर्शन हो भन्ने अनि जानीनजानी कुनै पाप गरिएको रहेछ भने त्यो नाश होस् भनेर गेरुवावस्त्र धारण गरी पण्डितका स्लोकमा चरुहोम हाल्ने कुरा कसरी एउटै हुन्छ ? मिलेन नि ! जनमतको ठूलो हिस्सा हिन्दुवादी रहेकाले तिनको भोट पाउन यस्तो गरिएको हो भने पनि त्यो त इमानदारी नभएर बेइमानी भयो, ढाँटेको भयो । यसकारण आफूलाई धर्म निरपेक्षताको पक्षधर भन्ने प्रचण्ड र हिन्दु धर्ममाथि प्रश्न गर्ने ओलीजीहरू यसरी पहेँलै भएर देशविदेशको यात्रामा निस्कनु रहस्यमय त छँदै छ र योभन्दा पनि ठूलो रहस्य त आफ्नो राजनीतिक आस्था, कार्यकर्ताको मनोभावना र भरोसा अनि आफूलाई भोट दिने जनताको आस्था र भावनामाथि खेलवाड गर्दै हिँड्ने दुस्साहस किन गरिरहेका छन् भन्ने छ । 

जनताले पत्याउने बोली वचन र कर्ममा हो । हिजो दुर्गा प्रसाईं किन प्रिय भए र आज के कारण बिच्किएर दुई मुर्धन्यहरूलाई सत्तोसराप गर्दै हिँडिरहेका छन्् ? पप्पुजी के कारणले प्रिय बने र पार्टीभित्र रातो दरी बिच्छ्याएर भित्र्याउने काम भयो ? यस्ता धेरैलाई काखी च्याप्ने र भीम रावलहरूलाई पिन डाउन गर्ने काम भइरहेको छ, किन होला ? यी सवालको जवाफ नदिने हो भने जनताले कसरी पत्याउने ? जनताले मात्रै होइन कार्यकर्ताले पनि किन पत्याउने ? मेरुदण्ड भएका कार्यकर्ताले पप्पुदेवलाई नेता मान्न मिल्छ ? अथवा निजले दिने प्रशिक्षण कुन दर्शन र सिद्धान्तमा आधारित होला ? यो पनि त धोका नै हो । यसरी हाकाहाकी सबैलाई धोका दिँदा पनि मुख नखोल्ने कार्यकर्ता वास्तविक कार्यकर्ता नै होइनन् भन्दा पनि हुन्छ । 

हामीलाई चाहिएको इमानदार नेतृत्व हो । समाजवादी नै नभए पनि कम्तीमा लोककल्याणकारी विचारसम्म भए पनि राख्ने नेतृत्व हो । भ्रष्ट नेतृत्व कार्यकर्ता र जनता कसैले पनि खोजेका होइनन् । रोजगारी निर्माण गर्ने नेतृत्व, महँगाइको विरोधमा सडकमा आउने नेतृत्व, कर नतिरेको धन प्रयोग नगर्ने नेतृत्व, भाइभतिजालाई लाभको पदमा नलैजाने नेतृत्व हो जनताले खोजेको । देउवासँग कस्ता मान्छेको उठबस छ, प्रचण्ड र ओली कमरेडहरूसँग कस्ता–कस्ता मान्छेको संगत छ भनेर सबैलाई थाहा छ, नाम लिनुपर्ने आवश्यकता नै छैन । के–कस्ता काम गरे तिनीहरूसँग मिलेर यिनीहरूले भनी कसैलाई बताउन जरुरी छैन, सार्वजनिक नै छ । 

मलाई हिजो पहाडी जिल्लाका केही गाउँ घुम्ने संयोग जु¥यो । ती गाउँ देखेर मन पिरो भयो, कटक्कै खायो । त्यहाँका घरहरू लगभग खाली छन्, ढोकामा लागेको ताल्चामा खिया परेको छ । घरमा लागेको टिनको छानोंमा खिया लागेको छ । घरका भित्ता पानीका बाछिटाले कोत्र्यान बनेको छ । घाँस खाने गाईवस्तु नहुँदा बुट्यानले खरबारी र घरका डिल भरिएका छन््, जसले गर्दा जंगलको झझल्को मेटिदिन्छ । एउटा स्कूलको एक कक्षामा कति जना छन् त विद्यार्थी भनेर सोधेको, जवाफ सुन्दा छाँगोबाट खसेझैँ भयो । त्यो कक्षामा जम्मा एक जना विद्यार्थी रहेछन् । अर्को स्कूलमा कक्षा सातमा विद्यार्थीको रेसियो के छ भनेर सोधेको थिएँ । त्यो कक्षामा पूरा विद्यार्थी संख्या जम्मा दश रहेछ र तीमध्ये एक जना मात्रै ब्राह्मण रहेछन् । बाँकी अरु मगर, दमाई, क्षेत्री र सार्कीहरू रहे । हुनेखानेहरू गाउँमा छैनन्, बसाइँसराइ गरेर तराईतिर झरिसकेका छन्् । त्यहाँ कोही बाँकी छन् भने यिनै गरिब र तिनैका छोराछोरी छन् । यस्सो विचार गरेको त अवस्था कहालीलाग्दो छ । गरिबले भरिएको यस्तो गाउँमा अब कसरी विकास हुन्छ ? वडाध्यक्षहरूका जेसिबीले खनेर रागेपाटे बनेका जंगलका बाटाहरू न कहिले पिच हुनेवाला छ न त गाडी नै गुड्नेवाला छ । बरु यसले त तलका खेत पुर्दिने काम पो गरिरहेको रहेछ । हामीलाई भनिएको, हामीलाई देखाइएको समृद्धि र विकासका सपना यी परित्यक्त गाउँको अवस्था देखेपछि कतिसम्म झुटा रहेछन् भनेर थाहा भयो । 

अब हामीले मन बदल्ने हो, रीत बदल्ने हो, परम्परा बदल्ने हो । यदि, यसरी भनेजस्तै गरेर बदल्न सकिएन भने बैंकहरूको बीचमा मात्रै होइन कि गाउँका स्कूलहरू, स्वास्थ्य चौकी र गाउँ गाउँको मर्ज गरेर मान्छे बस्ने गाउँ, विद्यार्थीले भरिएको स्कूल देख्न पाउनेछौं होइन भने झुटा सपनाको सिरानी हालेर बसिरहनुुको विकल्प छैन । मन बदलौं र मान्छे पनि बदलौं । 
 

टिप्पणीहरू